काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन कार्यदलले सिट बाँडफाँटबारेको खाकालाई आउँदो सोमबार टुंग्याउने बताएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कार्यदल बैठकले आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाकाबारे छलफल गर्दै अर्को बैठक यही साउन ३० गते सोमबार बस्ने गरी टुंगिएको हो ।

कार्यदल सदस्य माओवादी केन्द्रका नेता देव गुरुङले भने, ‘गठबन्धनका शीर्ष नेताहरुको मार्ग दर्शनबमोजिम हामी छलफलमा छौं । सहमतिको मोडालिटी तय गर्दैछौं । आगामी ३० गते अर्को बैठक बस्ने गरी आजको बैठक सकियो, साउन मसान्तसम्ममै काम सकाउँछौं ।’
यसअघि बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा ९माओवादी केन्द्र०बाट नेताहरू वर्षमान पुन र देव गुरुङ छन् ।
यसैगरी नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।
यही साउन २३ गते बसेको पहिलो बैठकले कार्यदलको संयोजकमा कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई चयन गरेको थियो ।














