
काठमाडौं । आज गाइजात्रा पर्व देशभर शहरमा पर्व मनाइँदैछ ।
गाईलाई नगर परिक्रमा गराउँदै र विभिन्न हाँस्यव्यंगात्मक प्रदर्शन गर्दै हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गाई जात्रामा गाई या गाईको चित्र अंकित तस्वीर लगाएका मानिसलाई नगर परिक्रमा गराउने चलन छ ।
गाईलाई नगर घुमाउनाले १ वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउँछ भन्ने विश्वास छ । हाँस्यव्यंग्य, नाटक प्रदर्शन तथा लाखे नाच पनि गाईजात्राका दिन देखाइने गरिन्छ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाउने गाईजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ ।
यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतकका आत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने पुराणमा उल्लेख छ । दिवंगतका परिवारजनले उनिहरुको संझनामा क्वाँटी, स्याउ, नास्पाती, काक्रो आदी बाँड्ने गर्छन् ।
आफन्तको मृत्यु भएर सोकमा डुबेका परिवारजनलाई हसाउने र मरेका आफन्तको शोक हटाउने चाडका रुपमा पनि यसलाई लिने गरिन्छ । काठमाडौंका तत्कालीन राजा प्रताप मल्लले आफ्नो पुत्र वियोगमा शोकमा डुबेकी रानीको मन बहलाउन गाइजात्राको चलन ल्याएको इतिहास छ ।
ललितपुरको पाटनसँगै अन्य शहर तथा काठमाडौंको बसन्तपुरसहितका स्थानमा गाईजात्रा मनाइन्छ । यस्तै भक्तपुरमा गाईजात्राको दिन ताहामच्चा र साँचा बनाउनुका साथै घिन्ताङघिसी र माँक प्याखँ (बाँदर नाच)े नाच देखाउने चलन छ ।














