Logo
Logo

नागरिकतासँग साटेको सत्ता



जहाँ टुँडिखेल बिक्न सक्छ
त्यहाँ जे पनि बिक्न सक्छ
तराई बिक्न सक्छ
पहाड बिक्न सक्छ
सिङ्गो मुलुक बिक्न सक्छ
भूगोल त्यहीँ नै हुन्छ
टुँडिखेल त्यहीँ नै हुन्छ
नेपाल त्यहीँ नै रहन्छ
तर हाम्रो नहुन सक्छ

हो, नेपालीको सामूहिक अभिव्यक्तिको थलो
हाम्रो नहुन सक्छ ।
नागरिकता दिने होइन बाँड्ने हो
सरहद पारीबाट
नेपाली नागरिकता लिनेको लर्कोले
शिवरात्रिको पशुपति बन्यो
मोफसलका सहरहरू
काठमाडौँको सेटिङ्ग सब मिलेको
टुँडिखेल बिक्री सरह
प्रधानमन्त्रीको ‘विकास र समृद्धि’को
भोपा लगाइरहेका छन्
बसको प्रेसर हर्न सरह

गृहमन्त्री भन्छन्, दिनुपर्याे प्रेसरले गर्दा
कहाँको, कसको प्रेसर हो ?
मुलुक सक्ने कस्तो प्रेसर ?
अन्ततः मुलुक ब्यालेटबाटै सकिने भो
सत्तामा पुग्न र टिक्नको लागि
नागरिकता कहिलेसम्म बेच्दै जान्छाैँ ?

रगत पसिनाको आर्जन
नेपालीले पठाएको डलर
बुझाई भारु लिएर
‘सुकुलगण्डा अर्थतन्त्र’ बनाई
‘विकास र समृद्धि’को आकाशमा
हलो कहिलेसम्म जोत्दै जान्छाैँ ?
खै, नेपालको आफ्नो अर्थतन्त्र ?

धृतराष्ट्र बनेर जनतालाई गांधारी भन्दा
प्रेम र विश्वासको घात भएको छ
अर्थतन्त्र सरह बन्यो राजनीति
नागरिकतासँग साटेको सत्तामा बसेर
नेपालीलाई सातौँ असमानमा पुर्याई
दाशनुदाश बनेर
कति दिन रजाई गर्ने नेपालीमाथि ?

ओली बेपत्ता हुन्छन्
आजै इतिहासमा
मुलुक भोलि नरहने भो
लामो जेल त अपराधीहरू परेकै छन्
के यसैको लागि हो त्यो यात्रा
सुरुङ युद्धको नाटक
नाकाबन्दीको अभिनय
मुलुक सक्ने पूर्व अभ्यास भनेर
निश्चल नेपाली जनताले
कसरी जानुन् ?

(२०७६ वैशाख १४ शनिवारको दिन सिर्जना भएको । अहिलेको शासक देउवालाई थपे निरन्तरता अद्यावधि हुन्छ)

प्रतिक्रिया दिनुहोस्