काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस शेखर कोइराला समूहले पार्टी नेतृत्व एकलौटी ढङ्गबाट अघि बढेको निष्कर्ष निकाल्दै अब भागबन्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन् ।

शनिबार काठमाडौँको बत्तिसपुतलीमा बसेको कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भागबन्डा खोज्नुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ ।
‘८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि समेट्नुभएको छैन । राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि गर्नुहुन्न,’ बैठकपछि नेता डिल्लीराम सुवेदीले भने ।
न्यायोचित निर्णय गर्नुहुन भने ४० प्रतिशत चाहिने भन्दै सुवेदीले, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन नि ।’
युवा नेता जगदीश्वरनरसिंह केसीको संयोजनमा गरिएको बैठकमा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य,गुरु घिमिरे सहित युवा नेताहरू मनोजमणि आचार्य , केशव सिंह ,रञ्जित कर्ण , सुवास पोख्रेल ,डिल्लीराम सुवेदी , गोमा केसी , कुसुम थापा सहित ८० जनाको उपस्थितिमा भेला सम्पन्न भएको हो ।














