Logo
Logo

टिकट वितरणमा कसैलाई अन्याय हुँदैन : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा न्यायपूर्ण तरिकाले टिकट बितरण गरिने बताएका छन् ।

स्थानीय तहका पदाधिकारीका लागि सोमबार ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै देउवाले पार्टी गठबन्धनका साथ चूनाव लड्न लागेपनि टिकटमा कसैलाई काखा, कसैलाई पाखा नगर्ने बताए । देउवाले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउन सबै क्रियाशिल हुनुपर्ने धारणा राखे ।

गठबन्धनलाई सँगसँगै लैजानुपर्ने अवस्था रहेको भन्दै देउवाले गठबन्धनका भरमा चूनाव जितिन्छ भनेर ढूक्क हुने अवस्था नरहेको जिकिर गरे । संघीयतापछि सिंहदरबार गाउँ–गाउँमा पुर्याउने भनिएपनि जनता निराश देखिएकाले जनताप्रति समर्पित भएर काम गर्न कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखलाई निर्देशन दिए ।

कार्यक्रममा कांग्रेसका उपसभापति धनराज गुरुङले जनताले आशंका गर्ने ठाँउ नदिएर काम गर्नुपर्ने बताए । कार्यसम्पादन गर्दा पारदर्शीताका कुरालाई मुख्य रुपमा अघि राख्नुपर्ने उनको भनाइ छ ।

अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्