Logo
Logo

सियुजीका लागि नेपाल टेलिकमको आकर्षक अफर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल टेलिकमले संस्थागत प्रयोगकर्ता (सियुजी) का लागि महिनामा जति पनि कुरा गर्न मिल्ने सुविधा सञ्चालन गरेको छ । टेलिकमले सियुजीका लागि न्यूनतम प्याकेज रकमबाट महिनाभर मोबाइलमा असीमित कुराकानी गर्न सकिने सुविधा ल्याएको हो ।

एउटै कम्पनी, संस्था वा कार्यालयमा कार्यरत कम्तीमा १० जना वा सोभन्दा बढी मोबाइल प्रयोगकर्ताले सुविधा उपभोग गर्न सक्नेछन् । जिएसएम र सिडिएमएका प्रिपेड तथा पोस्टपेड ग्राहक सेवामा आबद्ध हुन सक्ने टेलिकमले जानकारी दिएको छ ।

हाल चलिरहेको मोबाइल नम्बर वा नयाँ नम्बर लिएर पनि यस सेवामा आबद्ध हुन सकिने टेलिकमको भनाइ छ । सियुजी सेवामा आबद्ध समूहका नम्बरबाहेक नेपाल टेलिकमका अन्य नम्बरमा प्याकेजमा उपलब्ध गराइएको फ्री रिसोर्सेजसम्म भ्वाइस, डाटा र एसएमएस निःशुल्क प्रयोग गर्न सकिने बताइएको छ ।

थप सुविधाअन्तर्गत दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवाप्रदायकको मोबाइल तथा आधारभूत फोनमा समेत प्याकेजमा उपलब्ध समयसीमासम्म निःशुल्क कुरा गर्न सकिन्छ । सियुजी सेवा लिनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क राख्न सकिन्छ ।

कम्पनीले कर्पोरेट ग्रुपका विविध समूहलाई उपयुक्त हुने गरी विभिन्न दरका प्याकेजसमेत उपलब्ध गराइरहेको छ ।
जिएसएम÷सिडिएमए प्रिपेड ग्राहकका लागि मात्र उपलब्ध हुने गरी २ सय रुपैयाँको संस्थागत प्याकेज उपलब्ध छ । यो सेवा लिने प्रिपेड मोबाइल प्रयोगकर्ताले १ सय मिनेट समूहबाहिर टेलिकमकै मोबाइल तथा टेलिफोनमा कुरा गर्न र ५० वटा सन्देश पठाउन सक्नेछन् । यही सेवाअन्तर्गत मासिक १ सय ४० एमबीको डाटा चलाउन र कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवाप्रदायकका मोबाइल वा फोनमा पनि १० मिनेट कुरा गर्न सकिनेछ ।

प्रिपेड वा पोस्टपेड दुवै मोबाइल प्रयोगकर्ताका लागि ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँका प्याकेज उपलब्ध छन् । ४ सय रुपैयाँको प्याकेज लिँदा समूहबाहिरका कम्पनीकै मोबाइल वा टेलिफोनमा २ सय ३० मिनेट कुराकानी, ३ सय एमबी र १ सयवटा एसएमएस पठाउन सकिन्छ । साथै २० मिनेट कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवाप्रदायकका मोबाइल वा फोनमा कुरा गर्न सकिनेछ ।

साथै, ७ सय रुपैयाँको संस्थागत प्याकेज लिएमा समूहबाहिरका कम्पनीकै फोन तथा मोबाइलमा ३ सय ७० मिनेट कुराकानी, ८ सय एमबी डाटा र सयवटा सन्देश पठाउन तथा कम्पनी र दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवाप्रदायकका मोबाइल वा फोनमा ३० मिनेट कुरा गर्न पाइने सुविधा प्रदान गरिएको छ । १ हजार रुपैयाँको प्याकेजमा प्याकेजबाहिरका कम्पनीकै नेटवर्कमा ५ सय ५० मिनेट कुराकानी गर्न, १ हजार एमबी डाटा चलाउन तथा डेढ सय एसएमएस पठाउन र कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवाप्रदायकका मोबाइल वा फोनमा ४० मिनेट कुरा गर्न पाइनेछ ।

यसैगरी १३ सय रुपैयाँको संस्थागत प्याकेजमा समूहबाहिरका कम्पनीकै अन्य फोनमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा, २ सय एसएमएस पठाउन र कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवाप्रदायकका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा उपलब्ध गराइएको छ । १६ सय रुपैयाँको संस्थागत प्याकेजमा ७ सय ५० मिनेटसम्म समूहमा आबद्ध नभएका कम्पनीकै अरू फोन वा मोबाइलमा कुराकानी, २७ सय एमबी डाटा र २ सय ५० वटा एसएमएस पठाउन सकिन्छ ।

त्यसैगरी कम्पनी तथा दूरसञ्चार सेवा उपलब्ध गराउने अन्य सेवाप्रदायकका मोबाइल वा फोनमा ५० मिनेट कुरा गर्न पाइने सुविधा छ ।

प्रतिक्रिया दिनुहोस्