काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनबाटै सफलता हासिल हुने विश्वास व्यक्त गरेका छन् ।

स्थानीय तह निर्वाचन-२०७९ मा पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख, पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षका लागि आजदेखि सुरु भएको दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा सफलता प्राप्त भएको बताउँदै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धनबाटै सफलता हासिल हुने विश्वास व्यक्त गरेका हुन् ।
उनले उम्मेदवारी धेरै स्थानमा दिने भन्दा पनि धेरै स्थानमा विजयी हुने विषय पार्टीका लागि महत्वपूर्ण हुने बताए । साथै उनले न्यायपूर्वक टिकट वितरण हुनेमा आश्वस्त पार्दै जनता भन्दा ठूलो कोही नभएकाले जनताको मन जित्ने गरी काम गर्न आग्रह गरे । जनताको समर्थनका लागि पार्टीका सबै साथीहरुले जनताको दिल जितेर काम गर्नुपर्ने उनले बताए ।














