Logo
Logo

वामदेव र बाबुराम माओवादीको शरणमा



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपा माओवादी केन्द्रको निर्वाचन चिन्हबाट आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

मंगलबार सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले बाबुराम र बामदेवलाई आफ्नो निर्वाचन चिन्ह ‘हँसिया हथौंडा’बाट प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको हो । बाबुरामले ६ वर्ष अगाडि नेपालमा माओवादी विचारधाराको औचित्य समाप्त भएको भन्दै नयाँ शक्ति नेपाल नामक पार्टी गठन गरेर माओवादी त्यागेका थिए ।

त्यस यता धेरै पार्टीसँग एकता गर्दै अघि बढे पनि सफलता प्राप्त गर्न नसकेपछि उनी अन्तत माओवादीकै शरणमा फर्केका हुन् ।
पछिल्लो सयम बाबुरामलाई जनता समाजवादी पार्टी नेपालले कारबाही गरेको थियो । लगत्तै उनले नेपाल समाजवादी पार्टी गठन गरेका हुन् । वामदेव गौतमलाई माओवादीसँग धेरै नजिकको सम्बन्ध राख्ने नेताको रुपमा चिनिन्थ्यो ।

माओवादीलाई शान्ति प्रकृयामा ल्याउने लगायत काममा वामदेवले भूमिका खेलेका थिए । पछिल्लो समय एमाले र माओवादीबीचको एकतापछि बनेको नेकपामा पनि वामदेव तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै पक्षमा थिए । तर, नेकपा विभाजन हुने अवस्थामा नेकपा एकता अभियान भनेर बसेका उनले पछिल्लो समय उक्त अभियानलाई नै पार्टीको रुपमा रुपान्तरण गरेका हुन् ।

वामदेव र बाबुराम दुबै अहिलेकै अवस्थामा एक्लै निर्वाचनमा सहभागी हुँदा एउटा पनि सिट जित्ने अवस्था छैन । त्यसैले उनीहरुले माओवादीको सहारा खोजेका हुन् । वामदेव र बाबुराम माओवादीकै निर्वाचन चिन्हबाट निर्वाचनमा सहभागी हुने भएपछि उनीहरु पनि वर्तमान सत्ता गठबन्धनमा सामेल हुने निश्चित भएको थियो ।

माओवादी र नेपाल समाजवादी पार्टीबीच निर्वाचनपछि पार्टी एकता गर्ने आधारभूत सहमति भएको छ । तर, पार्टीको नाम के हुने भन्ने विषयमा कुरा मिलेको छैन । बाबुरामले पार्टीको नाम ‘समाजवादी केन्द्र’ राख्नुपर्ने माग गर्दै आएको छ ।

तर, माओवादीले माओवादी फगत नाम मात्र नभएर आजसम्मको सम्पूर्ण परिवर्तनको मानक रहेको भन्दै माओवादी नाम छोड्न नसकिने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्