Logo
Logo

दश भाईलाई छानिछानि हराउने बालकोटको योजना



काठमाडौं । नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको तयारी थालेको छ ।

ओली कोटरीका खास नेतालाई सुरक्षित निर्वाचन क्षेत्रमा लगेर जिताउने र पूर्व माधव समुहबाट आएका ‘१० भाई’लाई छानिछानि हराउने योजना बालकोटमा बनेको छ । त्यसका लागि प्रत्यक्षतर्फ ‘जिताउनै पर्ने’ सूचीमा ५० जना र समानुपातिकबाट ‘ल्याउनै पर्ने’मा ३० जनाको नाम समावेश गरिएको एमाले स्रोतले बताएको छ ।

‘१० भाई’ र तिनका समर्थक सांसदमध्ये बढीमा ३ जनाले टिकट पाउँदै छन् । स्रोतका अनुसार १० भाइमध्ये युुवराज ज्ञवाली अहिलेसम्म कुनै निर्वाचन क्षेत्रमा स्थापित छैनन् । अष्टलक्ष्मी शाक्यलाई ‘उमेर पुगेको’ भनेर टिकट नदिने योजना ओलीले बताएका छन् । शाक्यको क्षेत्रबाट महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य वा अञ्जान शाक्यलाई उठाइँदैछ ।

उता लालबाबु पण्डितले चुनाव लड्ने मोरङको निर्वाचन क्षेत्र तालमेलमा राप्रपालाई दिएर रेखा थापालाई उठाउने योजना छ । भीम रावलको क्षेत्रमा झपट बोहरा अगाडि बढिसकेका छन् । घनश्याम भुसालको क्षेत्र रुपन्देही-३ मा पनि राप्रपासँगको तालमेलका नाममा दिपक बोहोरालाई उठाउने बलियो सम्भावना छ ।

भीम आचार्यको क्षेत्र सुनसरी–२ मा जिल्ला पार्टी अध्यक्ष रेवती भण्डारीको उम्मेदवारी करिव निश्चित भएको छ । गोकर्ण विष्टको गुल्मी–२ मा पत्रकार राजेन्द्र अर्याललाई अगाडि सार्ने सम्भावना छ । एमाले स्रोतका अनुसार ओलीले उम्मेदवार बनाउन चाहेका ‘१० भाइ’ मध्येका योगेश भट्टराईलाई ताप्लेजुङबाटै उठ्ने कुरा चुनौतिपूर्ण बनेको छ ।

उनी नेपाल पक्षमै हुँदा सोही खेमाका तिलकुमार मेन्याङवो ओलीतिर गएका थिए । कारण थियो, ताप्लेजुङबाट योगेशलाई ‘बिदा’ गर्ने । हालै एमाले ताप्लेजुङको बैठकमा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनअघि योगेशले आफू ताप्लेजुङबाट अर्कोपटक नउठ्ने बताएको र यसपटक तिलकुमारले टिकट पाउनुपर्ने विषय उठेको थियो । तर, योगेशले भने आफूले त्यसो नभनेको बताएका छन् ।

अहिलेको चुनावी रस्साकस्सीमा ताप्लेजुङमा लिम्बू र गैरलिम्बू उम्मेदवारको बहसले पनि चर्को रुप लिइसकेको छ । त्यसैले योगेशलाई झापाको क्षेत्र नं. १ मा झार्ने सम्भावना छ । तर, यदि त्यस्तो भयो भने त्यहाँ उम्मेदवारीको दाबी गरिरहेका ओलीपक्षीय गोपाल बुढाथोकी र पूर्वमाधव नेपाल समूहका चन्द्र भण्डारी नै बाधक बन्ने अवस्था छ ।

अर्का नेता सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन–१ मा तामाङ र चेपाङ समुदायको बाहुल्यता छ । अघिल्लो पटक नै संघीय संसदको टिकट दाबी गरेर पछि प्रदेशसभामा गएका दावा दोर्जे लामाले यसपटक टिकट नपाए बागी नै भए पनि उठ्ने भनिरहेका छन् ।

रघु पन्तको निर्वाचन क्षेत्र ललितपुर-३ मा बाबुकृष्ण कार्कीलाई अगाडि बढाइएको छ । राप्रपाबाट एमाले प्रवेश गरेका उनी ०७४ को स्थानीय निर्वाचनमा उपमेयरका उम्मेदवार थिए । अरुण नेपालको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–१ मा यसपटक सरेश नेपालको उम्मेदवारी टुंगो लाग्ने भएको छ ।

अघिल्लो निर्वाचनमा कञ्चनपुर-३ बाट जितेका दिपकप्रकाश भट्टलाई यसपालि टिकट नदिने पक्कापक्की भएको छ । उक्त क्षेत्रबाट ओलीले निरुदेवी पाललाई उठाउने तयारी गरेका छन् । ०७४ मा कैलाली-२ बाट चुनाव जितेका झपट रावललाई रोक्न उक्त क्षेत्र तालमेलमा सहभागी दललाई दिइने भएको छ ।

कैलाली रेशम चौधरीको पकड जिल्ला भएका कारण उनकै पार्टीले उक्त क्षेत्र पाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्