Logo

जलवायु शरणार्थी बन्ने जोखिममा बङ्गलादेशको तटीय भेगका बासिन्दा



एजेन्सी । दक्षिणी बङ्गलादेशका स्थायी बासिन्दा मोहम्मद ज्वेल र आरजु बेगमका पितापुर्खाले बनाएको टिनको छाना भएको घर एक वर्ष अघि मेघ्ना नदीको बाढीले बगाएपछि उनीहरू पुख्र्यौली थातथलो छाडेर अन्यत्र जान बाध्य भए ।

भोला जिल्लाको रामदासपुर गाउँमा रहेको आफ्नो घर बगेको भोलिपल्ट बिहानै यी दम्पती आफ्ना चार जना छोरा लिएर सय किलोमिटर टाढा राजधानी ढाकातर्फ लागे । रामदासपुर गाउँ सबैभन्दा बढी बाढीबाट प्रभावित तटीय क्षेत्रहरूमध्येको एक हो जहाँ धेरै गाउँलेहरू नियमित रूपमा हराउँछन् । उनीहरूका घर र जग्गा पनि बङ्गालको खाडीमा बिलाउँछन् ।

बङ्गलादेशबाट बग्ने मेघ्नालगायत धेरै नदीको उद्गमस्थल हिमालय हो । एक सय ३० भन्दा बढी नदी देशको उत्तरी र उत्तरपूर्वी क्षेत्रबाट बग्छन् जसले वर्षायाममा तल्लो तटीय क्षेत्रमा बाढीको गम्भीर जोखिममा पर्ने गरेका छन् ।

जलवायु परिवर्तनका कारण देशको मौसममा अनियमितता उत्पन्न भई नदीको किनार द्रुत रूपमा भत्किने र गाउँपछि गाउँ ध्वस्त हुने गरेका विज्ञहरू बताउँछन् । वर्षायाममा धेरै नदीहरूले बाटो परिवर्तन गर्छन् जसले बजार, विद्यालय, मस्जिद बगाउँछन् ।

समुद्री सतहको वृद्धि, नदी कटान, चक्रवात आँधी र भित्री भूभागमा नुनिलो पानी बग्ने कारण लाखौं विस्थापित हुने र ‘जलवायु शरणार्थी’ बन्ने जोखिममा परेका वैज्ञानिकहरू बताउँछन् । गत वर्ष प्रकाशित विश्व बैंकको प्रतिवेदनअनुसार सन् २०५० सम्ममा दक्षिण एसियाका आन्तरिक जलवायु शरणार्थीमध्ये एक तिहाइ बङ्गलादेशमा हुने अनुमान गरिएको छ ।

“हामी नदी हेरेर हुर्केका हौँ, यहीँ माछा मारेर बाँचिरहेका थियौँ तर अहिले हामीबाट सबै कुरा खोसिएको छ, मेरो चित्त दुख्छ जब म मेरो गाउँ, मेरा पुर्खाहरू, मेरा पुराना दिनहरू सम्झन्छु । मसँग मेरो जन्मस्थान छोड्नुको विकल्प थिएन,” भर्या आरजु बेगमका साथ एक वर्षपछि रामदासपुरको आफ्नो पुरानो घर भएको स्थानमा पुगेका ज्वेल भावुक हुँदै भन्छन् ।

मेघ्ना नदीले पथ परिवर्तन गरेर आफ्ना छिमेकीका घर पनि बगाएको देखे । उनले बाल्यकालमा बस्तीको नजिकबाट नदी बगेको कहिल्यै महसुस गरेका थिएनन् तर केही वर्षयता मेघ्नाको धार हरेक वर्ष मानवबस्तीतर्फ सोझिँदै गएको छ ।

कुनै समय साना खुद्रा सामग्रीका पसल, चियाचमेना बेच्ने पसल, हाटबजार र हरियालीले आकर्षक गाउँ अहिले उजाड प्रायः छ । दुई हजारभन्दा बढी मानिसको बसोबार रहेको आफ्नो गाउँमा मुस्किलले अहिले पाँचसय जना भेटिन्छन् ।

हालैका वर्षमा हुन थालेको मुसलधारे वर्षाले तटीय क्षेत्रका बासिन्दाको जीवन कष्टकर बनाएको तथा आफ्ना समुदायका पुराना साथी र तिनका घरका अवशेषहरूबाट हिँड्दा आरजु बेगमलाई पनि उत्तिकै पीडा हुन्छ । ‘डुब्ने डरले घरको ढोकामा डोरीले खुट्टा बाँधेर कान्छो छोरालाई हुर्काएको हुँ । ज्वारभाटाको समयमा घर पानीले भरियो र मेरो कान्छो छोरो सधैं पानीतिर लाग्थ्यो, अवोध केटाकेटीलाई पानीमा खेल्न आनन्द आउँछ,’ बेगम विगतलाई यसरी सम्झन्छिन् ।

प्रतिक्रिया दिनुहोस्