Logo
Logo

न्यायको खोजीमा भौतारिँदै निहारिका



करिब चार सय वर्षअघि अड्डा अदालत थिएन । उ, बेला भनिथ्यो– ‘न्याय नपाए गोर्खा जानु ।’ अहिले अड्डा अदालत छ । उक्त भनाइ उखान बन्यो ।

समय बदलिएको छ । न्याय दिने निकाय छ । त्यसैले न्यायका लागि गोर्खा जानु पर्दैन । तर, अहिले पनि न्याय नपाए काठमाडौं जानुपर्ने बाध्यता छ ! न्याय माग्न काठमाडौं आउनेको लर्को छ । तर, काठमाडौं आएपनि न्याय पाउन मुस्किल छ ।

न्याय खोज्दै काठमाडौं आइपुग्ने मध्येका एक हुन्, महोत्तरीको जलेश्वरकी निहारिका राजपुत ( सोनालीकुमारी सिंह) । उनी न्याय माग्दै अहिले काठमाडौंमा छिन् ।

२१ वर्षीया निहारिका ‘आफूमाथि बलात्कार’ भएको भन्दै २९ महिनादेखि न्यायको भिख माग्दै भौंतारिरहेका छन् । अड्डा अदालत धाइरहेका छन् । तर, अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।

आफ्नो आवाज कसैले नसुनेपछि आमरण अनसनको बाटो रोज्न बाध्य भएको उनी बताउँछन् । १७ वर्षको छँदै एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर आफूमाथि बलात्कार गरेको भन्दै दोषीलाई कारबाही र आफूलाई न्याय हुनुपर्ने उनको माग छ ।

भनिथ्यो- न्याय नपाए गोर्खा जानु । समय बदलियो तर अवस्था बद्लेन । अहिले पनि न्याय नपाए काठमाडौं जानुपर्ने बाध्यता छ ! निहारिका न्याय माग्न काठमाडौं आएका छन् । तर, न्याय पो पाउने हो कि होइन ?

०७६ कात्तिक ६ गते धनुषा छिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठले बन्धक बनाएर बलात्कार गरेको भन्दै उनले ०७६ फागुन १९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएका थिए ।

जाहेरी दर्तापछि शिवराज पक्राउ परे । र, पुर्पक्षका लागि जेल चलान भए । ०७८ माघ २४ मा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले निहारिका बलात्कृत नभएको फैसला सुनायो । त्यसपछि शिवराज छुटे ।

शिवराज छुटेपछि निहारिकाले न्यायाधीशले आफूमाथि अन्याय गरेको भन्दै जिल्ला अदालत धनुषामा अनसन बसिन् । तर, प्रहरीले उनको अनसन बिथोलिदियो ।

जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि विक्षिप्त बनेका उनी अहिले उच्च अदालतमा मुद्दा लडिरहेका छन् । उनले फागुन १२ गते उच्च अदालत जनकपुरमा मुद्दा पुनरावेदन गरेका छन् ।

अहिले उनी काठमाडौंमा न्याय माग्दै भौतारिरहेका छन् । आफ्नो बच्चाको डीएनए परीक्षण गर्नुपर्ने र आफूलाई बलात्कार गर्नेमाथि कारबाही हुनुपर्नेलगायतका उनको माग छ । यसैको आधारमा प्रहरीले शिवराज पक्राउ परे ।

गत असार २ गते सरकार र निहारिकाबीच पाँच बुँदे सहमति भयो । सहमतिपछि उनले अनसन तोडिन् । आरोपी भनिएका शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षण गर्ने, उनको र छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह र महिला बालबालिका मन्त्रालयमार्फत पहल गर्ने, निहारिकाको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति भएको थियो ।

सरकारले उक्त सहमति पालना नगरेपछि उनी फेरि अनसन बसे । साउन २२ गते सर्वोच्चले अदालतको गेटमा अनसन बस्न गइन्, त्यहाँबाट प्रहरीले हटायो । त्यसपछि सिंहदरबारको दक्षिण गेटमा आमरण अनसनमा बसेका उनलाई प्रहरीले नियन्त्रणमा लियो ।

महिनौंको चित्कार कसैले नसुनेपछि आत्मदाहको स्थितिमा समेत पुगे । गत शुक्रबार उनले राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरे । पेट्रोल आफ्नो शरिरमा खन्याए । अर्को बोतल खन्याएर शरीरमा आगो लगाउने योजनामा थिए । तर, उनलाई प्रहरीले बचायो ।

उनीसँग न टेक्ने हाँगो छ, न समाउने । धेरै संघसंस्थाहरू चहारेर सहयोगको पुकारा गरे पनि कसैले नसुनेको उनको गुनासो छ ।

न्यायका लागि उनले परिवारको साथ खोजे तर, पाएनन् । उल्टै तिरस्कृत भइन् । अदालत धाइन्, अपमान खेपिन् । सरकारसँग गुहार मागिन् । तर, सरकारले सुन्दै सुनेन । यसरी साढे दुई वर्षसम्म एक्लै न्यायका लागि भौंतारिँदा पनि न्याय मिल्ने छाँटकाँट नदेखेपछि आत्मदाहको प्रयास गरे ।

उनको काखमा दुई वर्षको बच्चा छ । ‘कुमारी’ आमा बनेयता निरन्तर कानुनी लडाइँ लड्दै एकल जिम्मेवारीमा बच्चा हुर्काइरहेका छन् । उनलाई माइतीको साथ छैन । बच्चा जन्माएपछि परिवारले घरबाट निकाले । र, अहिलेसम्म घरमा प्रवेश पाएका छैनन् । राज्यले पनि उनीप्रति खासै चासो देखाएको छैन ।

तर, पछिल्लो समय सार्वजनिक भएका उनका तस्बीरहरुले एकपटक सोच्न बाध्य बनाउँछ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा निहारिका आफ्नो ‘प्रेमी’सँग देखिन्छन् । उनी गर्भवती अवस्थामा पनि देखिन्छन् ।

उक्त तस्बिर सर्वाजनिक भएपछि निहारिकामाथि प्रश्न उठ्न थालेको छ । केहीले निहारिका बलात्कृत होइनन् भन्ने आशय प्रकट गरिरहेका छन् ।

प्रतिवादी भनिएका शिवराजविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा बलात्कार आरोपमा जाहेरी दिनुअघि उनी स्वयंले त्यहाँ दुई वटा निवेदन दिएका थिए । जहाँ शिवराज र उनीबीचको सम्बन्ध ‘श्रीमान–श्रीमती’ रहेको सम्बोधन गरिएको छ । अस्पतालमा गर्भ परीक्षण गराउँदा पनि म्यारिटल स्टाटसमा ‘म्यारिड’ लेखेको पाइन्छ ।

जाहेरीमा मञ्जुरीविना करणी गरेर गर्भवती बनाएको बताएका छन् । त्यसपछि आरोपितको परिवारले गर्भपतनका लागि दबाब र धम्की दिएको प्रसंग छ ।

शिवराजले उनलाई गर्भवती बनाएपछि अलपत्र छाडेर भागेको देखिन्छ । त्यही भएर उनी न्याय माग्न दुईपटक प्रहरी कार्यालय गएको देखिन्छ । ०७७ भदौ २७ गते शिलापत्र डटकममा प्रकाशित भएको स्टोरीमा पनि शिवाजसँगको उनको प्रेम कहानी समावेश छ ।

त्यसबेला निहारिकाले भनेका छन्– ‘हाम्रो प्रेमको विषयमा उनको घरपरिवारलाई पनि राम्ररी थाहा थियो । काठमाडौँबाट फर्केएपछि २५ दिन शिवराजकै घरमा बसेँ । त्यहीबीचमा हाम्रो सम्बन्ध भयो । काठमाडौं जाँदा एकाएक बेहोस भएँ । अस्पताल पुगेर जाँच गराउँदा गर्भ बसेको थाहा पाएपछि डरले मेरो होश उड्यो ।’

गर्भवती भएपछि निहारिका आरोपित श्रेष्ठसँग मात्रै लडिरहेका छैनन्, समाज र आफ्नै परिवारसँग पनि लडिरहेका छन् । उक्त घटनाले समाज कस्तो छ भन्ने प्रस्ट्याएको छ । निहारिका एक प्रतिनिधि पात्र मात्रै हुन् ।

समाजमा खासगरी भूलबस, उत्तेजना, प्रलोभन वा अनुचित दबावमा परी कुनै महिलाले पुरुषसँग यौन सम्बन्ध राखेको अवस्थामा महिलालाई नै दोषी वा व्यभिचारीको रुपमा हेर्ने गरिन्छ । यस्तो सम्बन्धलाई समाजले अवैध ठान्छ र अन्ततः यसले महिलाई नै असर पार्छ ।

महिला र पुरुष सम्बन्धमा रहँदा कुनैपनि बेला यौन सम्पर्क रहन सक्छ, हाल यो सामान्य भइसक्यो । चाहेर वा नचाहेर गर्भ रहन सक्छ । त्यो पनि स्वाभाविकै हो । तर, सम्बन्ध बिग्रिएपछि यसले कसरी ठूलो अपराधको रुप लिन्छ भन्ने यो एक उदारहण हो । यस्ता सम्बन्धले विशेषगरि महिला बढी मारमा पर्दछन् ।

समाजमा धेरै किशोरीले यस्ता समस्या भोगिरहेको हुनसक्छ । अभिभावकले आफ्ना छोराछोरीमाथि निगरानी नगर्दाको परिणाम भनिएपनि यस्ता घटना कम गर्न सरकारले पनि ध्यान दिन आवश्यक छ । निहारिका साँच्चीकै पीडित हुन् भने राज्यले न्याय दिलाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्