Logo
Logo

नेपालमा जनसंख्याभन्दा दोब्बर बैंक खाता


2.1k
Shares

काठमाडौं । जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । तर, नेपालीको बैंकमा खाता संख्या भने यसको दोब्बर पुगेको छ ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार २०७९ असारसम्ममा बैंकमा कुल खाता संख्या ४ करोड ४९ लाख ७१ हजार ९ सय ६९ रहेको छ । एउटै व्यक्तिको ३–४ वटा खाता (दोहोरो खाता) खोल्ने प्रवृत्तिले कुल खाता जनसंख्याभन्दा धेरै देखिएको प्रतिवेदनमा उल्लेख छ ।
२८ खर्ब नाघ्यो मुद्दती निक्षेप
बैंक तथा वित्तीय संस्थामा ५१ खर्ब ५९ अर्ब १७ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको २०७८÷७९ को तथ्यांक अनुसार सबैभन्दा बढी (५४.९७ प्रतिशत) मुद्दती निक्षेपको हिस्सा छ । यसअनुसार बैंकिङ प्रणालीमा २८ खर्ब ३५ अर्ब ८१ करोड रुपैयाँ मुद्दती खातामा संकलन भएको हो ।

बचत खातामा दोस्रो बढी रकम संकलन भएको छ । कुल निक्षेपको २७.१८ प्रतिशत संकलन भएको हो । चल्ती खातामा कुल निक्षेपको ४ खर्ब ६५ अर्ब ४१ करोड ५० लाख (९ प्रतिशत) छ । यसैगरी कल डिपोजिटमा ७.५८ प्रतिशत छ । अन्यमा ६७ अर्ब ६९ करोड ५० लाख रुपैयाँ रहेको छ ।

खाता बढेपनि निक्षेप संकलन दर घट्यो
निक्षेप खाता खोल्नेको संख्या बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । तर, अपेक्षाअनुसार निक्षेप भने संकलन हुन नसकेको पाइएको छ । एकै वर्ष (२०७८/७९) मा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा खाता खोल्नेको संख्या २०.७० प्रतिशतले वृद्धि भएको छ । साउन ३० सम्म १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

जबकि साउन २७ गतेमात्रै वाणिज्य बैंकको प्रणालीबाट १ खर्ब २१ अर्ब रुपैयाँ बाहिरिँदा कुल निक्षेप ४४ खर्ब २१ अर्बमा सीमित थियो । २०७७/७८ मा कुल ३ करोड ७२ लाख ५९ हजार ९ सय ९६ खाता खोलिएको छ । एकै वर्ष ७७ लाख ११ हजार ९ सय ६३ वटा खाता थपिएर २०७९ असारसम्ममा ४ करोड ४९ लाख ७१ हजार ९ सय ६९ पुगेको छ । वाणिज्य बैंकको खाता १८.१२ प्रतिशतले बढेर ३ करोड ८८ लाख ९२ हजार पुगेको छ।

यो कुल खाताको ८६.४८ प्रतिशत हो । यस्तै, विकास बैंकको खाता २५.४७ प्रतिशतले बढेर कुल ५४ लाख ३६ हजार पुगेको छ । यो कुल निक्षेपको १२.०९ प्रतिशत हो। यसैगरी वित्त कम्पनीको निक्षेप खाता २०.७० प्रतिशतले बढेर ६ लाख ४३ हजार ४ सय २ पुगेको छ । वित्त कम्पनीको कुल निक्षेपको १.४३ प्रतिशत हिस्सा छ ।

वित्तीय पहुँचका हिसाबले निक्षेपको खाता संख्यामा उल्लेख्य सुधार आएको बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय बताउँछन् । ‘तर, जसरी खाता संख्या बढेको छ । त्यसका आधारमा निक्षेप संकलन कहाँ गयो भन्ने सबैको चासो भएको छ,’ उनले भने, ‘अहिले निक्षेप खातामा भएको रकम बैंकिङ प्रणालीबाटै बाहिरिएको छ । पर्याप्त मात्रामा सरकारी ट्रान्जेक्सन वा सरकारी भुक्तानी भएको छ । नेपाल आयल निगमले भक्तानी गरेरलगायतले निक्षेप बाहिरएको देखिन्छ ।’

गत वर्ष बैंक तथा वित्तीय संस्थाको निक्षेप ९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप २१.४ प्रतिशतले बढेको थियो । २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.३ प्रतिशत छ । २०७८ असार मसान्तमा यस्तो निक्षेपको अंश ४२.७ प्रतिशत थियो।

वाणिज्य बैंकको औसत आधार दर २०७८ असारमा ६.८६ प्रतिशत रहेकामा २०७९ असारमा ९.५४ प्रतिशत छ । अधिकांश निक्षेप संस्थागत हुने गरेको र एकै पटक झिक्दा पनि केही समय प्रणालीमा निक्षेप घट्ने संघका अध्यक्ष उपाध्याय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्