Logo
Logo

त्रिशूलीमा ट्रक खस्यो, दुर्घटनामा युवकको मृत्यु


- दृष्टि न्युज/संवाददाता


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ । ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ ।

त्यसैगरी पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित मादी पुल नजिक गए राति मोटरसाइकल दुर्घटना हँुदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने २० वर्षीय सुरेन्द्र रसाइली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

व्यास नगरपालिका–५ चापाघाटबाट दमौलीतर्फ आउँदै गरेको ग ५ प २६३९ नं को मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार रसाइलीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका सुमन विक घाइते भएका छन् । उनी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भएका छन् । दुर्घटना के कारणले भयो भन्नेबारेमा खुल्न नसकेको र घटना सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्