Logo
Logo

४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न, २ लाख १४ हजार बन्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन् । पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा छन्, जुन पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो ।

अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्ष्भित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताउनुभयो । ‘गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि कम हुन सक्छ, अरु सबै यही आर्थिक वर्षमै सम्पन्न गर्छौ’–उहाँले भन्नुभयो ।

प्राधिकरणका सहसचिव एवं प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार ११९ छ ।

आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । त्यहाँ ६७ हजार ८३४ घर पुनर्निर्माण भएका छन् । त्यसैगरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६१३ घर पुनर्निर्माण भएका छन् । धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनर्निर्माण भइसकेका छन् ।

कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५२५ घर पुनर्निर्माण भएका छन् ।

जिल्लागत रुपमा पुनर्निर्माण सम्पन्न भएका घरको संख्या यसप्रकार छ :
सिन्धुपाल्चोक– ६७, ८३४, नुवाकोट – ५२,६१३, धादिङ – ४८,४५४, दोलखा – ४४,५३३, गोरखा – ४४,२३१, काभ्रेपलाञ्चोक – ३०,८७७, रामेछाप – ३०,७११, ओखलढुङ्गा – १५,७७२, मकवानपुर – १३,०७०, सिन्धुली – १२,५८२, काठमाडौं – ११,५४२, रसुवा – १०,४१८, तनहुँ – १०,५२५, भक्तपुर – ८,४२०, ललितपुर – ४,२१६, लमजुङ – ३२००, चितवन – २,९८२, खोटाङ – २,९२८, सोलुखुम्बु – २,३०२, पाल्पा – १,४३५, भोजपुर – १,२६८, धनकुटा – १,२०३, बागलुङ – ८,८२, स्याङ्जा – ७०७, पर्वत – ६७६, नवलपरासी – ६२०, गुल्मी – ३२७, कास्की – ३२४, म्याग्दी – २७१ र अर्घाखाँची– ५४ घर पुनर्निर्माण सम्पन्न भएका छन् ।

सम्झौता नगर्नेको नाम हट्दै
निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हट्ने भएका छन् । लाभग्राहीमा सूचीकृत भए पनि करिब ५७ हजारले अनुदान सम्झौता गरेका छैनन् । त्यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या साढे पाँच हजार छ ।

प्रतिक्रिया दिनुहोस्