
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा बढी डिजेल आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा ८ अर्ब ९८ करोडको डिजेल आयात भएको हो । ६ अर्ब ३८ करोड रुपैयाँको पेट्रोल, ६ अर्ब रुपैयाँको कच्चा भटमासको तेल र ५ अर्ब २७ करोड ८० लाख रुपैयाँको एलपीजी ग्यास आयात भएको छ ।
यसैगरी ४ अर्ब १६ करोड रुपैयाँको कच्चा पाम तेल आयात भएको छ ।
समग्र आयात–निर्यात घट्यो
साउनमा आयात र निर्यात दुवैमा गिरावट आएको छ । २०७८/७९ साउनको तुलनामा आयात १२.९ प्रतिशत घटेको छ ।
सो साउनमा १ खर्ब ५० अर्ब ७३ करोडको आयात भएको थियो । यो साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँका मालवस्तु भित्रिएका छन् । आयातसँगै निर्यात पनि घटेको छ । साउनमा १४ अर्ब ८० करोडको निर्यात भएको छ ।
यो अघिल्लो वर्षको तुलनामा २८.६८ प्रतिशतले कम हो ।
वैदेशिक व्यापार खस्कियो
चालू आवको सुरुवातमा वैदेशिक व्यापार पनि खस्किएको छ । साउनमा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार भएको छ ।
यो गत आवको साउनको तुलनामा १४.८१ प्रतिशत कम हो । उक्त वर्ष १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यो साउनमा १ खर्ब १६ अर्ब ४७ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ ।
गत साउनको तुलनामा १०.३८ प्रतिशत कम हो । यस्तै गत आर्थिक वर्षमा १७ खर्ब २० खर्बको व्यापारघाटा भएको थियो ।












