काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफओ एच के पार्कले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । नेपालको औपचारिक भ्रमणका क्रममा रहेका उनले बुधबार प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन्। उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराए । उनले यस प्रकारको पहलहरूले भविष्यमा समुदाय, विशेषगरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको दोहो¥याए ।
सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स (गोल्छा समुह)सँग मिलेर नवलपरासीमा एलइडी टिभी उत्पादन गर्ने कारखाना संचालन गर्ने घोषणा गरिसकेको छ । नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरु गर्न यस नयाँ उद्योगबाट बल पुग्नेमा सामसङ विश्वस्त छ । यसका साथै स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसरहरु सिर्जना गर्ने नेपाल सरकारको नीतिमा पनि मद्दत पुग्न जानेछ ।
सामसङले नेपालमा दुई दशकदेखि नेपालमा आफ्नो व्यापार गरिरहेको छ। आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । यसले हाल नेपाली बजारमा आफ्ना साझेदारहरू मार्फत स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू जस्तै टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन र माइक्रोवेभहरू बिक्री गर्दै आएको छ । कम्पनीसँग २ हजारभन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोर र ग्राहक सेवा केन्द्रहरूको बलियो नेटवर्क विस्तार छ ।












