Logo
Logo

भुइँफुट्टाको कब्जामा महासंघ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अग्रजहरुले बडो दुःखकष्टाका साथ स्थापना गरेको नेपाल उद्योग वाणिज्य महासंघ आज आएर भाँडभैलो अवस्थामा पुगेको छ । महासंघभित्र एक जना भुइँफुट्टा व्यक्तिको हालीमुहालीले गर्दा महासंघको गर्विलो इतिहास धुमिल बनेको छ । महासंघलाई अस्वस्थ राजनीति र गुट–उपगुटबाट टाढा राख्ने नाममा २०७४ साल कात्तिक ४ गते विधान संशोधन गरियो । उक्त विधानमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने निर्णय गरियो र भवानी राणा स्वतः अध्यक्ष बनिन् । तर अहिले आएर फेरि विधान संशोधनको कुरा भुइँफुट्टा वर्गले उठाउन थालेका छन् । र, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्नबाट रोक्न खोज्दैछन् ।

विधान संशोधन भएको एक कार्यकाल पनि नबित्दै फेरि विधान संशोधनको कुरा उठ्नु भनेको गोल्छासँगको ‘बार्गेनिङ’ हो । यसको विरोधमा जिल्ला, नगर, वस्तुगत, एशोसिएट सबै एक हुनुपर्नेमा तिनीहरु सबै भुइँफुट्टा वर्गकै पोल्टामा परेकोले महासंघ पंगु बनेको छ ।

गत साउन १४ गते विधान संशोधन समितिका संयोजक चण्डिराज ढकालको अध्यक्षमा बसेको बैठकले महासंघको विधान संशोधन गरेर अधयक्ष पदका लागि प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरेको छ । जसको निवर्तमान अध्यक्ष पशुपति मुरारकाले चर्को विरोध जनाएका छन् । पूर्वअध्यक्षहरु पनि विधानजस्तो कुरा हरेक कार्यकालमा परिवर्तन गरिन नहुने पक्षमा छन् । तर, भुइँफुट्टा वर्ग भने महासंघलाई कठपुतली बनाएर आफ्नो गुजारा चलाउने दाउमा हिंडिरहेका छन् ।

आगामी कात्तिक अन्तिमतिर भुइँफुट्टा वर्गको लहलहैमा लागेर महासंघको विधान संशोधन गरियो भने त्यो दुर्भाग्य नै हुनेछ । किनभने त्यसले विधान संशोधन गर्नुपर्छ र गर्नुहुन्न भन्ने बीच द्वन्द्व निम्तने खतरा बढाउँछ । प्रत्यक्ष निर्वाचन भएको खण्डमा शेखर गोल्छा, किशोर प्रधान, उमेशलाल श्रेष्ठ अध्यक्ष पदका लागि दाबेदार बन्नेछन् । गोल्छालाई अध्यक्ष बन्न नदिन विधान संशोधन गर्नेहरुले गोल्छाविरुद्ध किशोर प्रधानलाई अध्यक्ष लडाउने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्