Logo
Logo

अन्धविश्वासको पछि लाग्नु हुन्न-सुमन ढकाल, अभिनेत्री


- दृष्टि न्युज/संवाददाता


उनी अभिनीत नेपाली फिल्म ‘एकलब्य’ हालैमात्र रिलिज भएको थियो । तर, उनी अझै टेलिअभिनेत्रीकै रुपमा चिनिन्छिन् । ‘कलाकारिताको ‘करिअर’ टेलिफिल्मबाटै सुरु गरेकी हुँ’ नुवाकोटकी सुमन ढकालले भनिन्, ‘अहिले पनि टेलिफिल्ममै व्यस्त छु । ‘एकलब्य’ फिचर फिल्म भएपनि सुमनलाई त्यसले खासै चिनाएन । कुनै–कुनै फिल्म राम्रै बनेर पनि कलाकार ओझेलमा पर्ने गर्छन् । सुमनका लागि ‘एकलब्य’ त्यस्तै बन्यो । हाल ब्याचलरमा अध्ययरत सुमन पाँच वर्षयता कलाकारितामा संर्घषरत छिन् । स्कुले जीवनमा नाटकमा अभिनय गर्दागर्दै कलाकारितामा लागेकी सुमन फिल्मी अभिनयसँगै मोडलिङमा पनि सक्रिय छिन् । हाल ‘जीवनचक्र’, ‘भाग्य आफ्नो’ र खैलाबैला’जस्ता टेलिफिल्ममा एकसाथ काम गरिरहेकी सुमनले एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । यिनै अभिनेत्री तथा मोडल सुमनसँग ‘दृष्टि साप्ताहिक’को जम्काभेट :

अहिले के गर्दै हुनुहुन्छ ?

टेलिफिल्महरुमै व्यस्त छु । अहिले नेपाल टेलिभिजनको ‘जीवनचक्र’, रमाइलो टिभीको ‘भाग्य आफ्नो’ र इमेजको ‘खैलाबैला’मा काम गरिहेकी छु ।

फिल्म ‘एकलब्य’बाट कस्तो रेस्पोन्स पाउनुभयो ?

रामै्र पाएँ । फिल्ममा गरेको भूमिकाअनुसार दर्शकबाट राम्रै प्रतिक्रिया पाएकी थिएँ । फिल्म पनि ठीकै थियो । तर, सोचजस्तो भएन ।

त्यो फिल्ममा कस्तो भूमिका गर्नुभएको थियो ?

फिल्म ‘एकलब्य’मा एकलब्यकै मनपर्ने युवतीको भूमिका गरेकी थिएँ । एकलब्यले मनपराउँदा मनपराउँदै मेरो मृत्यु हुन्छ । फिल्ममा मेरो भूमिका छोटो तर राम्रो थियो ।

‘एकलब्य’ तपाइँको डेब्यु फिल्म होइन त ?

रिलिजको हिसाब हो, तर मैले त्यसअघि नै अरु फिल्ममा अभिनय गरेकी थिएँ । बिराज भट्टको फिल्म ‘साङ्लो’मा पनि काम गरेकी छु । त्यो रिलिजको क्रममा छ । मैले केही भोजपुरी फिल्ममा पनि काम गरेकी छु ।

कलाकारिता क्षेत्रमा कसरी आउनुभयो ?

यो क्षेत्रमा आउने सोच थिएन । स्कुल पढ्दा नाटकहरुमा अभिनय गर्थेँ । नाटकहरुमा अभिनय गर्दागर्दै टेलिफिल्म ‘झ्याइँकुट्टी झ्याइँ’मा काम गर्ने अवसर पाएँ । त्यसपछि विस्तारै अभिनयमा मोह पलाउँदै गएको हो ।

यो क्षेत्रमा लाग्नुभएको कति भयो ?

पूर्णरुपमा लागेको पाँच/छ वर्ष भयो । त्यसभन्दा अगाडि स्कुलमा हुने नाटकहरुमा मात्र अभिनय गर्थेँ । तर, म यो क्षेत्रमा कुनै सोचविना आएकी हुँ ।

तपाइँ टेलिअभिनेत्रीकै रुपमा चिनिनुहुन्छ है ?

त्यस्तै भन्नुप¥यो । मैले कलाकारिताको करिअर पनि टेलिफिल्मबाटै सुरु गरेकी हुँ । त्यसपछि फिल्ममा काम गर्दा पनि त्यही छाप बस्यो । हुन त अहिले पनि टेलिफिल्महरुमै व्यस्त छु । त्यसबाहेक म्युजिक भिडियोहरुमा पनि मोडलिङ गर्दै आएकी छु ।

तपाइँको प्राथमिकताचाहिँ कुनलाई हो ?

यसैलाई प्राथमिकता दिन्छु भन्दिनँ किनकि, म कलाकार हुँ । आफूलाई राम्रो लाग्यो भने सबैमा गर्छु । टेलिफिल्म, फिल्म र मोडलिङ जेमा पनि काम गर्छु ।

यहाँसम्म आउँदा कुनैदिन कलाकारितामा बेकारमा लागेछु भन्ने लागेको छैन ?

लागेको छ । तीन वर्षअघिको कुरा हो, त्यतिखेर २० दिनसम्म रात–दिन नभनि सुटिङ गरिएको थियो । त्यो पनि जंगलमा । हर्रर फिल्म भएकाले जंगलमा राति सुटिङ गरेका थियौँ । तर, त्यत्रो दुःख गरेर पनि त्यो फिल्म रिलिज नहुँदा कलाकारिता क्षेत्र नहुने रहेछ, बेकारमा लागेछुजस्तो लागेको थियो ।

अब तीज पनि नजिकिँदैछ, के छ योजना ?

खासै योजना छैन । अघिपछि नभएपनि तीजमा चाहिँ व्रत बस्ने गरेकी छु । व्रत बस्ने हो, अरु केही छैन ।

तीजमा भगवान शिवजीको नाममा व्रत बस्दा आफूले चाहेको जस्तो ‘वर’ पाइन्छ भन्नेमा कतिको विश्वास लाग्छ ?

तीजमा व्रत बस्छु । व्रत बस्दैमा आफूले खोजेजस्तो वर पाइन्छ भन्ने मलाई लाग्दैन । यो एउटा अन्धविश्वास हो । अन्धविश्वासको पछि लाग्नु पनि हुन्न ।

व्रत बस्दा के माग्नु हुन्छ वा सोच्नुहुन्छ ?

म पाँच/छ वर्षदेखि हरेक तीजमा व्रत बस्दै आएकी छु । तर, आफ्नो लागि केही मागेकी छैन र माग्दिनँ पनि । व्रतको बेला म सबैको भलो होस् भनेर सोच्छु ।

प्रतिक्रिया दिनुहोस्