Logo
Logo

यी हुन् धेरै विदेश घुम्ने गृह मन्त्रालयका कर्मचारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २१ साउन ।
कर्मचारीको विदेश भ्रमणमा लगाम लगाउने गत वर्षदेखिकै सरकारको निर्णय गृह मन्त्रालयमा भने खासै लागू भएको छैन । एक वर्षमा गृहका एक सय सात कर्मचारीले विदेश भ्रमण गरेका छन् । एउटै कर्मचारीले आठपटकसम्म विदेश भ्रमण गरेका छन् ।

गृहमा सबैभन्दा बढी विदेश पुग्ने प्रवक्ता समेत रहेका सहसचिव रामकृष्ण सुवेदी हुन् । मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा उनले आठपटक विदेश भ्रमण गरेका छन् । मन्त्रालयको सबैभन्दा महत्वपूर्ण मानिने शान्ति सुरक्षा व्यवस्थापन महाशाखाका प्रमुखसमेत रहेका सुवेदीले इटाली, थाइल्यान्ड, भारत, चीन, बंगलादेश र भियनाको भ्रमण गरे । फिलिपिन्स भने दुईपटक गएको विवरण छ । उनका ६ भ्रमण विभिन्न कार्यक्रममा सहभागिताका लागि, एउटा तालिम र अर्को अध्ययनका लागि भएको मन्त्रालयले जनाएको छ ।

सुवेदीपछि विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव इन्दु घिमिरे धेरैपटक विदेश घुम्ने कर्मचारीमा पर्छिन् । उनी वर्षमा ६ पटक विदेश गएकी छिन् । बंगलादेश र थाइल्यान्ड दुई–दुई पटक गएकी उनी जर्मनी, स्विट्जरल्यान्ड एक–एकपटक गएको मन्त्रालयको विवरणमा उल्लेख छ । गृहसचिव प्रेमकुमार राई भने दुईपटक विदेश गएका छन् । गत वर्ष उनी स्विट्जरल्यान्ड र थाइल्यान्ड गएका थिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्ले भियतनाम, जेनेभा, थाइल्यान्ड र मलेसिया गएका थिए । सहसचिव नारायणप्रसाद शर्मा दुवाडी जापान, अस्ट्रिया, इन्डोनेसिया र मंगोलिया गरी चार देश गएका थिए ।

कर्मचारी प्रशासन महाशाखाका सहसचिव केदारनाथ शर्मा र महादेव पन्थ तीन–तीनपटक विदेश गएका छन् । शर्मा इरान, जापान र चीन तथा पन्थ इन्डोनेसिया, अस्ट्रेलिया र अमेरिका गएका थिए ।

अध्यागमन विभागका महानिर्देशक ईश्वराराज पौडेलले जर्मन, स्विट्जरल्यान्ड, भारत र बेलायतको एक–एकपटक भ्रमण गरेको गृह मन्त्रालयले जनाएको छ । गृहका सहसचिवहरू हरिप्रसाद मैनाली, अर्जुनप्रसाद पोखरेल, सुशील कोइराला, जनकराज दाहाल, जितेन्द्र बस्नेत, कुमार खड्का, पुष्कर सापकोटा र राजेश पौडेल एक–एकपटक विदेश भ्रमणमा गएका छन् । त्यस्तै, ४६ उपसचिव, ४३ अधिकृत र दुई नासुले पनि गत वर्ष विदेश भ्रमण गरेको मन्त्रालयको विवरणमा छ ।

धैरै विदेश जान पाउने उपसचिवहरूमा वंशीप्रसाद आचार्य, रामचन्द्र तिवारी, वशिष्ठकुमार घिमिरे, ज्ञाननाथ ढकाल, वेदनिधि खनाल र परमानन्द घिमिरे छन् । उनीहरूमध्ये आचार्य चार देश तथा अन्य उपसचिव तीनपटक विदेश गएका छन् ।

सबै तहका गरी एक सय सात कर्मचारीले विदेश भ्रमण गरेका छन् । जसमध्ये सबैभन्दा धेरै ३६ जना चीन गएका छन् । चीनपछि थाइल्यान्ड र भारत जाने कर्मचारीको संख्या धेरै छ । विदेश जानेमा मन्त्रालयमै कार्यरत कर्मचारीको हालिमुहाली हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्