Logo
Logo

अतिवादी ‘आरएसएस’को बाटोमा एमाले



राष्ट्रिय स्वयमसेवक संघ अर्थात आरएसएस भारतलाई केन्द्रविन्दु मानेर काम गर्ने एउटा ‘घोर दक्षिणपन्थी हिन्दुवादी संगठन’ हो । यसको मुख्य उद्देश्य संसारभर हिन्दू साम्राज्य स्थापना गर्ने देखिन्छ ।

यो राजनीतिक दल होइन । तर पनि हिन्दुधर्म विस्तार गर्न यसको विभिन्न सांगठनिक हाँगाहरूमध्ये राजनीतिक हाँगा पनि एक हो । र, त्यो हाँगालाई भारतीय जनता पार्टी अर्थात् बिजेपी हो ।

भारतीय कानुनअनुसार बिजेपी एउटा स्वतन्त्र राजनीतिक दल भए पनि भित्रीरुपमा बिजेपी आरएसएसको एउटा राजनीतिक शाखा मात्र भएकाले विचारधारात्मक काम र कार्यक्रमहरूको स्रोत यसको केन्द्रीय कमिटी होइन, आरएसएस नै भएको पाइन्छ ।

नेपालको सन्दर्भमा बिजेपी र एमालेका बीचमा केही समानताहरू दिनप्रतिदिन विकसित हुँदै गइरहेका छन् । एउटा वामपन्थी पार्टी र अर्को हिन्दूवादी पार्टीका बीचमा कसरी समानता हुन्छ ? यो एउटा अविश्वसनीय तर्क पनि हो ।

भारतीय भूमिमा मोदी, मोदी भन्ने नारा लगाइरहँदा नेपालमा पनि ओली, ओली भन्ने नारा लागिरहन्छ । यो प्रवृत्तिको स्रोत अतिवादी ‘आरएसएस’ नै हो । विचारको स्रोत एउटै भइसकेपछि बिजेपी र एमालेको अभियानमा पनि समानता देखिनु अस्वाभाविक होइन ।

तथापि, तथ्यहरूले निरन्तर पुष्टि गरिरहेको हुनाले यो विषयमा पनि छलफल होस् भन्ने यो पंक्तिकारको आशय छ । त्यसबाहेक एमाले पार्टीलाई निरन्तर वामपन्थी कित्तामा जोगाइराख्न पनि यो छलफल जरुरी भएको हो ।

बिजेपीको मुख्य काम भारतलाई हिन्दू राष्ट्र बनाउने हो । यो उद्देश्यका साथ उ चुनाव लड्न सक्दैन । यो उद्देश्यलाई लुकाएर ऊ विकास र समृद्धिको कुरा गर्छ । ‘सबका साथ सबका विकास’ अल्पसंख्यक र अन्य धर्मका मानिसहरूलाई आश्वस्त पार्ने बिजेपीको अर्को नारा हो ।

त्यसबाहेक उसले व्यक्तिलाई महान् बनाएर प्रस्तुत गर्छ र महान् व्यक्तिले मात्रै भारत वर्षको कल्याण गर्छ भन्ने विचार छर्दै उसैलाई देखाएर ऊ सत्तामा जान कोसिस गर्छ ।

भारतको यो कालखण्डमा महान बन्ने सुअवसर नरेन्द्र मोदीले पाएका छन् । आरएसएसले ‘मोदी ब्राण्ड’ सकेसम्म बिक्री गर्छ । यो महानता थोत्रिसकेपछि महान् बन्ने पालो उत्तर प्रदेशको मुख्यमन्त्री आदित्यनाथ योगीले पाउँदैछन् । उनीहरूको सबै कार्यक्रमहरू हेर्ने हो भने राष्ट्रिय गीतकै झझल्को दिनेगरी मोदी !!! मोदी !!! को नारा लगाउँछन् ।

उनीहरुको उद्देश्य हो, मोदी !!! मोदी !!! को नारा यति लोकप्रिय बनाइदिने कि मान्छेहरू यो पार्टीको साम्प्रदायिक गतिविधि र यसका दक्षिणपन्थी उद्देश्यप्रति ध्यान नै नदिउन् । केही वर्षदेखि भारतमा आरएसएसको यो उद्देश्य र योजना सफल भइरहेको छ ।

माथि उल्लेख गरिएका आरएसएसको सफलताको यो कथाबाट नेपालको एमाले अत्यन्त प्रभावित भएको देखिन्छ । उसले मोदीकै शैलीमा केपी ओलीलाई प्रस्तुत गरेको छ । एमालेको जुनसुकै कार्यक्रममा केपी बा जिन्दावाद !!! आइ लभ यु केपी ओली !!! नभनीकन कार्यक्रम सुरु नै हुँदैन ।

हालै एमाले केन्द्रीय कमिटीको बैठकले ओलीलाई आगामी प्रधानमन्त्रीका रुपमा प्रस्तुत पनि गरिसक्यो । ‘दश वर्ष ओलीलाई’ भन्ने पार्टी गित नै तयार पारिसके । यसरी ओलीलाई महामानवको रुपमा प्रस्तुत गर्ने र उसैको नाममा भोट जम्मा गरेर सत्तामा पुग्ने रणनीतिमा एमाले लागेको पाइन्छ ।

भारतीय भूमिमा मोदी, मोदी भन्ने नारा लगाइरहँदा नेपालमा पनि ओली, ओली भन्ने नारा लागिरहन्छ । यो प्रवृत्तिको स्रोत आरएसएस नै हो । विचारको स्रोत एउटै भइसकेपछि बिजेपी र एमालेको अभियानमा पनि समानता देखिनु अस्वाभाविक होइन ।

बिजेपी सरकारमा बसेर हिन्दु धर्मको प्रचार गर्छ । यसका नेताहरू गेरुवा बस्त्र लगाउँछन् । प्रधानमन्त्री तीर्थाटन गर्छन्, धर्मशास्त्रका कुरा गर्छन । गाईका विशाल गोठहरू निर्माण गर्छन् । रामको जन्मभूमि खोज्छन् । रामको रथयात्रा निकाल्छन् । यसरी हिन्दूत्वको भावना भड्काएर भोटमा रुपान्तरित गर्दै बिजेपीहरू सत्तामा पुग्न सफल भएका छन् ।

ठीक यसैगरी एमाले पनि रामको जन्मभूमि खोज्छ । फरक यत्ति हो, बिजेपीले रामको जन्मभूमि अयोध्यामा फेला पार्यो, एमालेले चितवनको ठोरीमा । एमालेका नेताहरुले पनि पहेँलो बस्त्र धारण गरेर राम र हनुमानको रथयात्रा बालुवाटारबाट ठोरीसम्म पुर्याएको घटना हामी सबैले देखेकैै हो ।

नेपाल एउटा हिन्दू बहुल भएको मुलुक हो । ओली पनि हिन्दू बहुल मतदातालाई प्रभावित पार्न कहिले पशुपतिमा सुन चढाउँछन्, कहिले पशुपतिको आरतीमा सामेल हुन्छन्, कहिले रथयात्रा निकाल्छन् ।

बिजेपीले आफ्नो नेता मोदी र योगीको परिवार नभएको, सम्पत्ति घर नभएको र नितान्त सर्वहारा भएको प्रचार गरिरहेको छ । ठीक यही शैलीमा ओलीले छोराछोरी नभएको र भएको सबै घर सम्पत्ति राज्यको नाममा दान गरेको प्रचार गर्छन ।

यद्यपि, मोदीको श्रीमती भएको रहस्योद्घाटन भइसकेको छ । ठीक यसैगरी ओलीले पनि आजसम्म सम्पत्ति नेपाल सरकारलाई हस्तान्तरण नगरेको तथ्य सबैले थाहा पाइसकेका छन् ।

जे होस् प्रमख नेतालाई महान त्यागी बनाउने र त्यसको प्रचार गर्ने प्रवृत्तिको स्रोत पनि आरएसएस नै हो । यो विचारलाई एमाले र बिजेपीले समान ढंगमा अभ्यास गरिरहेको पाइन्छ ।

मोदी अल्पसंख्यक विरोधी हुन् । काश्मिरमा धारा ३७० हटाउने, मुस्लिमहरूलाई आफ्नो उत्पत्तिको प्रमाण पेश गर्नुपर्ने कानुन ल्याउनेजस्ता अनेकौं साम्प्रदायिक कानुनहरू ल्याउनमा उनको ठूलो भूमिका छ ।

नेपालमा पनि ओलीका धारणाहरूमा अल्पसंख्यक विरोधी गन्ध आउँछ । उनको मधेस विरोधी रुझान सबैलाई थाहा नै छ । हालैको विवादित नागरिकता ऐनमा एमालेको दोहोरो भूमिकाको पनि पटाक्षेप भइसकेको छ ।

प्रायः दक्षिणपन्थीहरू आफूलाई राष्ट्रवादी देखाउने कोसिस गर्छन् । जर्मनको तानाशाह हिटलर आफूलाई महान राष्ट्रवादी ठान्थे । मोदीले त ‘हमारा भारत महान’ भन्ने नारा नै लगाएका छन् ।

मोदी बेला बेला आफूलाई राष्ट्रवादी देखाउन पाकिस्तानलाई गाली गर्छन् । गाली मात्र होइन, कहिलेकाहीँ पाकिस्तानी भूमिमा गोलाबारी गरेको समाचार पनि सुन्न पाइन्छ । ठीक यसैगरी ओली पनि आफूलाई अब्बल राष्ट्रवादी देखाउने असफल कोसिसमा लिप्त भइरहेका हुन्छन् ।

भाडाका भारतीय पत्रकारसँगको अन्तर्वार्ता होस् कि चुच्चे नक्सामा गरेको चर्चा होस् अथवा नाकाबन्दीको बयान गरेर होस्, उनी र उनको मण्डली आफूलाई राष्ट्रवादी देखाउन कोसिस गर्छ ।

तर, महाकाली सन्धिमा ओलीको भूमिका, चुच्चे नक्सा पाठ्यक्रममा छापिँदा ओलीले रोकेको कुरा, एमसीसी, एसपीपी, नागरिकता विधेयकमा उनको दोहोरो चरित्र, भारतीय जासुसको सल्लाहमा संसद् विघटनको घटना र भारतले नाकाबन्दी गरेर सुशील कोइरालाको सरकार ढालेर ओलीलाई प्रधानमन्त्रीमा स्थापित गर्दै नाकाबन्दी खोलेको घटनामा, उनी सर्वत्र नांगिएका छन् ।

बिजेपीको पनि केन्द्रीय कमिटी छ । बैठक पनि बस्छ, छलफल पनि हुन्छ । तर, निर्णय गर्ने सर्वाधिकार मोदीमा नीहित छ । ठीक यसैगरी, एमालेको पनि केन्द्रीय कमिटी छ, बैठक पनि बस्छ । यहाँ पनि निर्णय गर्ने सर्वाधिकार ओलीमै छ ।

बिजेपीका नेताहरू प्रष्ट भन्छन्, हामी आरएसएसका भगिनी संस्था हौँ । हाम्रो निर्णय गर्ने ठाउँ आरएसएस हो । त्यो निर्णय मोदीमार्फत विजेपी केन्द्रमा आउँछ । अब यहाँ एउटा प्रश्न उठछ, एमाले केन्द्रीय कमिटीको सर्वाधिकार सम्पन्न ओलीलाई निर्देशनचाहिँ कहाँबाट आउँछ ?

माथि उद्धरण गरिएका विभिन्न तथ्यहरूले एमाले वामपन्थी पार्टीबाट निरन्तर अन्तै कतै ब्ल्याकहोलतर्फ गइरहेको प्रमाणित हुन्छ । एमालेभित्र हजारौँ कम्युनिष्ट क्रान्तिकारीहरू छन् । उनीहरूको उद्धारका लागि पनि एमाले किन मोदीपथतर्फ दौडिँदैछ भनेर छलफल चलाइनु आवश्यक छ । यो लेखको उद्देश्य एमालेलाई वामपन्थमै जोगाइराख्ने पनि हो ।

नेपाली समाजलाई क्रान्तिकारी रुपान्तरण गर्न र मुलुकलाई समाजवादको यात्रामा प्रवेश गराउन पनि एमाले कम्युनिष्ट रहिरहन अत्यन्त जरुरी छ । आरएसएस र मोदीपथबाट एमालेलाई मुक्त नपारी यो कम्युनिष्ट पार्टी हुन सक्दैन । आउनोस् वृहद् छलफल गरौँ ।

(लेखक नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख हुन् ।)

प्रतिक्रिया दिनुहोस्