Logo
Logo

निर्मलाको परिवारमा विवादः दुर्गादेवीमाथि श्रीमानद्वारा कुटपिट



कञ्चनपुर, २६ पुस ।
बलात्कारपछि हत्या गरिएका बालिका निर्मला पन्तले ६ महिना हुन लाग्दा पनि राज्यबाट न्याय पाउन सकेकी छैनन् । यही बेला उनको परिवारमा समेत विवाद देखिएको छ ।


निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि परिवारमा विवाद बढेको हो । निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न निर्मलाकी आमाले रगत नमुना संकलन गरेपछि परिवारमा विवाद भएको हो । परिवारको सल्लाहबिना रगतको नमुना प्रहरीलाई दिएको भन्दै निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मी पन्तले असन्तुष्टि जनाउँदै दुर्गादेवीमाथि कुटपिट समेत गरेका छन् ।
निर्मलाकी आमाले डीएनएका लागि बुधबार रगत संकलन गरेको विषयलाई लिएर घरमा विवाद भएको छिमेकी मञ्जु भट्टल बताए । निर्मलाको ‘भेजाइनल स्वाब’मा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गरेर प्रहरीलाई दिएकी छिन् ।
डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी पन्तले बताइन् । ‘निर्मलाको स्वाबमा भएको डीएनए सही हो कि होइन भनेर जाँच्नुपर्ने माग हामीले नै गरेका थियौँ’, उनले भनिन् ‘बुवा र मेरा रगतको नमुना लिने कुरा थियो । म तीन–चार दिन जिल्ला प्रशासन कार्यालय गएँ तर बुवा नगएपछि हिजो बाध्य भएर एक्लै रगतको नमुना संकलन गरेँ ।’

छोरीको हत्या भएको ६ महिना बितिसक्दा पनि न्याय नपाइएको बताउँदै आफूले राहत रकम बुझ्ने निर्णयसमेत गरेको उनले बताइन् । तर, आमाले राहत रकम बुझ्ने निर्णय गरे पनि निर्मलाका बुबाले भने असन्तुष्टि ‘छोरीले लामो समय बितिसक्दा पनि न्याय पाएकी छैन । अब आन्दोलन पनि सेलाउँदै गएको छ’, दुर्गादेवीले भनिन् ‘त्यसैले मैले धर्ना बस्नुको कुनै अर्थ छैन । बरु राहतको रकम बुझेर सरकारलाई अनुसन्धानका लागि सहयोग गर्नुपर्छ भन्ने सोचेँ । ’
राहतका लागि सरकारबाठ १८ लाख रुपैयाँ आएकोमा सो पैसाका नाममा समेत विवाद भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्