Logo
Logo

बैंकिङ कसुरका घटना वृद्धि : २ हजार ५६६ विरुद्ध मुद्दा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ साउन । उपत्यकामा बैंकिङ कसुरका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ ।
जसमा काठमाडौंमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो । बैंकिङ कसुरमा काठमाडौंमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ ।
उपत्यकामा आव २०७४/०७५ मा ४८७ र आव २०७३/०७४ मा १० जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो । यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैंकिङ कसुरमा मुद्दा चल्दै आएको छ ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताउँछन् । उनले भने, ‘पहिला सहमतिमा कारोबार ग¥यो, पछि पैसा नउठेपछि प्रहरीकोमा मुद्दा हाल्ने प्रचलन बढेको छ ।’
खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैंकिङ कसुरमा मुद्दा चलाइने गरेको छ । केही समय अगाडि देवानी हकअन्तर्गत बैंकिङ कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैंकिङ कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो ।
मुलुकभर आर्थिक वर्ष २०७५/०७६ मा दुई हजार ६२० जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो । यस्तै आव २०७४/०७५ मा ७७६ र आव २०७३/०७४ मा ९३ जनाविरुद्द बैंकि कसुरमा मुद्दा चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्