Logo
Logo

२८ बाणिज्य बैंकको नाफा ६५ अर्ब ३९ करोड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३२ साउन । २८ वाणिज्य बैंकले आव ०७५ र ७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । ०७४ र ७५ को तुलनामा बैंकहरूको खुद नाफा २४.५८ प्रतिशत बढेको हो । ०७४ र ७५ मा बैंकहरूले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए । ०७४ र ७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन् । आजको अन्नपूर्ण दैनिकमा समाचार छ ।
कर्जा लगानी गर्न रकम अभाव हुँदाहुँदै पनि नाफामा उल्लेख्य वृद्धि भएको छ। आव ०७५र७६ मा वाणिज्य बैंकको औसत निक्षेप दर ६.५८ प्रतिशत र कर्जामा ब्याजदर १२.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत वर्ष राष्ट्र बैंकले निक्षेप र कर्जामा औसत भारित ब्याजदर अन्तर (स्प्रेड दर) ४.५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको भए पनि वाणिज्य बैंकले गत आवमा उच्च स्प्रेडदर (५.७ प्रतिशत) राखेर नाफा बढाएको देखिन्छ । वाणिज्य बैंकहरू र राष्ट्र बैंकबीच स्प्रेडदर गणना विधिमा मतभिन्नताका कारण राष्ट्र बैंकले गत आवमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ल्याएको स्प्रेड दर गणनाको व्यवस्था कार्यान्वयन गर्न सकेन ।

बैंकहरूले स्प्रेडदर गणनामा निक्षेपको कुल लागतलाई ऋण र लगानी (सरकारी ऋणपत्रमा गरिने लगानी) को प्रतिफलबाट घटाएर स्प्रेड गणना गर्दै आएका छन् ।
बैंकहरूले सरकारी ऋणपत्रमा पाउने ब्याजदर न्यून हुने हुँदा कर्जा र लगानीतर्फको भारित औसत कम हुन जान्छ । भारित औसत भन्नाले निश्चित अवधिभित्रको सबै कर्जा र लगानीको ‘प्रडक्ट’ मा कायम ब्याजको औसतमा निक्षेपका सबैखाले स्किममा दिइएको ब्याजको औसत गणना गर्ने विधि हो ।

प्रतिक्रिया दिनुहोस्