Logo
Logo

साहित्यका सात सम्भावना- जोसँग समाजले अपेक्षा गर्छ



काठमाडाैं । साहित्य मानव जातिको उत्पतिसँगै सुरुवात भएको मान्यता छ । प्राचीन कालमा लेख्ने चलन थिएन । कथेको कुरा मौखिक रुपमा सुनाइन्थ्यो । वेद, पुराण, रामायण, महाभारत मौखिक रूपमै जन्मिएका हुन् । 

जसले समाजमा पारेको प्रभाव अहिले हामी प्रत्यक्ष देखिरहेका छौँ । त्यसैले साहित्यलाई इतिहासको दस्ताबेज पनि भनिन्छ । 

साहित्य- समाजिक, सांस्कृतिक मूल्य मान्यताको अर्को रूप हो । यसैले विभिन्न समुदायका परम्परा, चाडपर्व, रीतिरिवाज, संस्कृति, संस्कार बाँचिरहेका छन् । साहित्य समाजको मूल अस्तित्व हो । 

साहित्यकार श्रवण मुकारुङको शब्द सापटी लिएर भन्दा समाज परिवर्तनमा कला साहित्यको भूमिका कुनै राजनेता वा राजनीतिक शक्तिको भन्दा कम भूमिका हुँदैन ।

एउटा राजनेताको विचारको प्रभाव सधैँ रहन नसक्ला, तर कला र साहित्यले पारेको प्रभाव सधैँ रहन्छ । दीर्घकाली प्रभाव कायम गर्छ । एउटा सभ्यतामा साहित्यले पारेको प्रभाव अर्को सभ्यतासम्म रहिरहन्छ ।

साहित्यमा समाजका अन्तर्वस्तु, संरचना, शिल्प, भाषा, संस्कृति जस्ता कुरा अभिव्यक्त हुने गर्छ । त्यसैले साहित्यकारको विशेष भूमिका रहन्छ । 

त्यही भूमिकालाई अँगालिरहेका ‘सहित्यका सात सम्भावना’लाई समेट्ने प्रयास गरेका छौँ । जसले साहित्यमा धार लगाइरहेका छन् । र, साहित्यलाई एउटा उचाइमा पुर्याउन सक्छन् ।

सुष्मा रानाहँमा राई- जो कवितामार्फत योगदान गर्न सक्छन्

सुष्मा रानाहँमा राई नयाँ पुस्ताको उदाउँदो कवि हुन् । उनको कवितामा गाउँ, समाज पाइन्छ । संस्कार, संस्कृति पाइन्छ । भोगाइ पाइन्छ । 

उनी यथार्थवादी कवि हुन् । उनले समाजका घटना, परिवेश, विकृति र भोगाइलाई कवितामा उतार्ने गर्छन् । विशेषगरी आदिवासी जनजातिको मुद्दामा उनले कलम चलाउँदै आएका छन् । 

उनले कवितामार्फत सत्ताले निर्माण गरेको धार्मिक, सांस्कृतिक विभेद विरूद्ध शसक्त आवज उठाउँदै आएका छन् । उनी ‘इतर आवाज’का अभियन्ता पनि हुन् । उक्त अभियानको केन्द्रबिन्दुमा रहेर काम गर्दै आएका छन् । 

सबै माझ सुष्मा रानाहँमा भनेर चिनिएपनि उनको वास्ताविक नाम भने सुस्मिता राई हो । २०४९ साल असोज (खोटाङ) मा जन्मेका सुष्माले साहित्यिक यात्रा विद्यार्थी जीवनदेखि आरम्भ गरेका हुन् । 

परदेशलाई कर्मभूमि बनाएका उनले दक्षिण कोरियाबाटै पहिलो कविता संग्रह ‘आमाको तासफोटो’ (वि.स. २०७७) पाठकमाझ पुर्याइसकेका छन् ।

गाउँमा हुँदा गाउँले दिनचर्या कवितामार्फत प्रस्तुत गर्थे । गाउँमा सिर्जनात्मक कार्यक्रम खासै हुँदैनथ्यो । भएको बेला भाग लिन्थे । गाउँमा बसेको बेला लेखेका साहित्यबारे सुष्मा भन्छन्– त्यसबेला संरचनात्मक रुपमा कविता, गजल लेखिएन । त्यो भावनात्मक रुपमा थियो ।’
०००
सुष्माको पहिलो कविता हो- ‘आमा’ । 
यो कविता लेख्नुको विषेश कारण छ-

०५८ सालतिरको कुरो हो । तत्कालीन माओवादीका केही कार्यकर्ता गाउँलेसँग मिसिएर घरमुनि हुँदै बग्ने साप्सु खोलामा माछा मार्दै थिए । अचानक राज्यपक्षबाट गोली चल्यो ।

‘हामी गाउँले, निर्दोष हौँ’ भन्दाभन्दै पनि गोली हानियो । निर्दोष ७ जनाको बगरमै र माओवादी कार्यकर्ता २ जनाको भाग्ने क्रममा फरकफरक स्थानमा मृत्यु भयो । कलिलो उमेरमा त्यो हृदयविदारक घटना देखेँ । र, त्यसको प्रभावले पहिलोपटक कविता लेखेको थियो,’ उनले सुनाए ।

उनले थपे- ‘मारिएका मध्ये एकजना मृतकको बच्चा जन्मेको ६ महिना मात्रै भएको थिएछ । उहाँको श्रीमती दुधे बच्चा लिएर आउनुभयो । बगरमा मान्छेको शव माछासँगै पल्टिरहेको थियो । गोली लागेको छातिमा प्वाल परेर पछाडि देख्न सकिन्थ्यो । त्यस घटनाले पिरोलीरह्यो । राति निन्द्रामा पनि झस्कन्थे । चिच्याउथे । बारम्बार रिकल भइरह्यो । त्यसलाई नै कवितामा उतारे । यो कविताले स्कुलको प्रतियोगितामा प्रथम पनि भएँ ।’ 

त्यो घटनाबारे सुष्माले ‘साप्सुमा मिसिएको आँसु’ भनेर संस्मरण पनि लेखेका छन् । 

०००
सहर छिरेसँगै लेख्न छाडिन् । पहिलोपटक उदयपुरको गाइघाट बजारमा गाडी देखेका उनले त्यहीँबाट गाडी चढेर धरान पुगेपछि खासै कविता लेखिनन् । कुनै बेला फाट्टफुट्ट लेख्थिन् । 

‘संघर्ष गर्न काठमाडौं नै जानुपर्छ’ भन्ने कुराले सुष्माको मन र मष्तिस्क सधैँ हिर्काइरह्यो । धरानमा पकेट खर्च जोहो गर्न काम गर्दै पढिरहेका सुष्माले भानुचोकको बस स्टेन्डबाट काठमाडौं हुइकिन लागेको रात्रीबससँगै जीवनको अर्को यात्रा तय गरिन् ।

काठमाडौं पुगेपछि औपचारिक शिक्षामा ब्रेक लाग्यो । सँगै कल्पना नै नगरेको विदेश यात्रा तय भयो ।

उनी भन्छन् ‘परिवारको आर्थिक अवस्था बुझ्ने भएपछि घरमा पैसा माग्नै मुख नलाग्ने । कोरियन भाषा पढाउने शैक्षिक संस्थामा काम गर्दै भाषा पढे । परिवारको जेठि छोरी पनि हुँ, त्यसैले आफूले जस्तो भाइबहिनीले भोग्न नपरोस् भन्ने संकल्प हुँदो रहेछ । कोरियालाई कर्मभूमि बनाएको सात वर्ष बित्यो । विदेश जाने भन्ने कल्पना पनि थिएन ।’ 

१२ घण्टा डिउटीको थकान, कामको तनाब, घरपरिवारको सम्झनाहरूलाई शब्दमा व्यक्त गर्दै कोरिया पुगेपछि उनले फेरि कविता लेख्न थाले । 

‘नलेख्दा पनि, लेख्न नसक्दापनि एकदमै गाह्रो हुन्छ । तर, कविता लेखेर चुलो बल्दैन । र काम पहिलो प्राथमिकतामा छ । जब एउटा कविता पूर्ण हुन्छ । मनमा छुट्टै खुशी छाउँछ । महिनाभरि काम गरेर आएको तलब भन्दा पनि धेरै खुशी लाग्छ ।’ 

कविता लेख्न नसक्दा उनलाई छटपटी हुन्छ । ओठमा हाँसो भएपनि मनमा खुशी हुँदैन । सुष्मा भन्छन्, ‘आफूले सोचेको विषयमा लेख्न नसक्दा छटपटी हुन्छ, ओठमा मुस्कान भएपनि मन खुशी हुँदैन, केही अपुग भए जस्तो, केही छुटे जस्तो हुन्छ ।’ 

अब उनी कथासंग्रह निकाल्ने सोचमा छन् । कवितामा पोख्न नसेकेका, अटाउन नसकेका कुराहरुलाई कथामा पोख्ने उनको योजना छ । कविताभन्दा पढ्नलाई आख्यान बढी मन पराउने भएकाले कथासंग्रह ल्याउने उनको सोंच छ । उनी भन्छन्– ‘उपन्यास लेख्ने सोच बनाएको छैन तर कथा लेख्ने तयारीमा छु ।’
०००

राजेन्द्र तारकिणी- फरक क्षमता, उत्कृष्ट उपस्थिति

नेपाली साहित्यमा पारिजात, झमक घिमिरेजस्ता फरक क्षमताका स्रष्टाहरूको जुन उचाइ छ, त्यस हाराहारी अन्य स्रष्टा छन् जस्तो लाग्दैन । तर पछिल्लो समय कवितामा सशक्त उपस्थिति जनाइसकेका यस्तै फरक क्षमताका राजेन्द्र तारकिणीले त्यो उचाइ चुम्नसक्ने सम्भावना देखिन्छ ।

वि.सं. ०४७ सालमा सुदूरपश्चिमको बैतडीमा जन्मेका यी युवा प्रतिभाले जीवनको कलिलो वयमै श्रवणशक्ति गुमाए । विद्यालय तहमा उनी सधैँ ‘स्कुलटप’ हुन्थे । ०६३ सालमा श्रवणशक्ति गुमेपछि उनको पढाइ केही समय स्थगित भयो । पछि स्वअध्ययनबाटै एसएलसी पास गरेर ०६६ सालमा काठमाडौं आए ।

स्नातकोत्तरसम्मकाे औपचारिक अध्ययन गरेका तारकिणीले साहित्यमा कलम चलाउन थालेको पनि डेढ दशक भइसके छ । उनको हालै मात्र चौथो कृति ‘बिगन रामको मादल’ कवितासंग्रह प्रकाशित छ । 

०६६ सालमा पहिलो कवितासंग्रह ‘आमाको वेदना’ छपाएका तारकिणीले ०६७ मा ‘नारीपूजा’ खण्डकाव्य र ०६८ मा ‘बहिरो जीवन’ मुक्तकसंग्रह प्रकाशित गरिसकेका छन् ।

‘अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता-२०१४’का विजेता हुन्, तारकिणी । एएनए उत्तर अमेरिकी नेपाली साहित्य प्रतिष्ठानले आयोजना गर्ने उक्त प्रतियोगिता त्यसबेलाको लोभलाग्दो प्रतियोगिता मानिन्थ्यो । पुरस्कार राशि १ हजार अमेरिकी डलर थियो । त्यो जितेपछि नै तारकिणीको चर्चा एकाएक चुलियो ।

आफ्नो जिम्मेवारी बढेको महसुस गरेर बढी अध्ययन र साधना गर्दै कवितामा निखार ल्याएको बताउँछन् । भन्छन्, ‘त्यसबेलासम्म म संख्यात्मक हिसाबले धेरै कृति छाप्नेबारे सोच्थेँ । तर साहित्य रचना थोरै भए पनि त्यसको ओजन बढी हुन्छ भन्ने कुरा त्यही प्रतियोगितापछि महसुस भयो । त्यसपछि कम लेख्न र बढी पढ्न थाले ।’

एक दशक अवधिमा लेखिएका कविता छानेर ‘बिगन रामको मादल’ तयार गरेका उनले बताए । भाव, विम्ब, अभिव्यक्ति कौशल र विषयवस्तुका हिसाबले बलिया कविताहरू यसमा समेटिएका छन् । 

‘सुरुका तीन कृति त रहरैरहरले लेखिएर छापिएका थिएँ । तर यो पछिल्लो कृतिचाहिँ जिम्मेवारीबोध, अध्ययन र साधनाले माझिएपछि बल्ल छाप्न तयार भएको हुँ,’ उनले भने । उसो त उनी आफू अहिले पनि सिकारु र साधनारत अवस्थामा रहेको बताउँछन् ।

कविताका अलावा चित्रकला, भाषा सम्पादन, पत्रकारिता र फोटोग्राफी उनको रुचि एवं दख्खलको विषय हो । केही कला प्रदर्शनीहरूमा सहभागिता जनाइसकेका तारकिणीले क्षेत्रीय ललितकता विशेष पुरस्कार–२०७१ समेत प्राप्त गरेका थिए । 

यस्तै राष्ट्रिय युवा साहित्य प्रतियोगितामा द्वितीय पुरस्कार (२०६९), राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम पुरस्कार (२०७०), धन–इन्दिरा राणा बहिरा प्रतिभा पुरस्कार (२०६६), गोधूलि भानु भाषा–साहित्य पुरस्कार (२०७९), प्रलेस युवा प्रतिभा पुरस्कार (२०७९) लगायत एक दर्जनजति पुरस्कार र सम्मान पनि उनले हात पारेका छन् । 

आगामी योजना के छन् नि ? उनले सहजै भने, ‘जिन्दगी योजनाविना नै चल्दोरहेछ । हामी योजनाविना नै जन्मन्छौँ र मर्छौं । बाँचिरहेको समयमा पनि जे सोचेका हुन्छौँ, त्यो हुँदैन । तर पनि मान्छेले सोच्न र योजना बनाउन भने छाड्दैन । यस्तै मेरा पनि धेरै सोचाइ थिए, ती सब पूरा भएनन् । तर मान्छेले गर्छु नै भनेर तनमन र अठोटले लागेमा पूरा गर्न सकिँदो रहेछ ।’ 

जाँदाजाँदै उनले आगामी कृति निबन्धसंग्रह प्रकाशित गर्ने योजना रहेको सुनाए ।
०००

कलम सङ्घर्ष- गजलका गंगा

नेपाली गजल वृत्तमा सक्रिय र लोकप्रिय स्रष्टा हुन्, युवा गजलकार कमल सङ्घर्ष (कमलप्रसाद भण्डारी) । बाल्यकालदेखि साहित्यिक विधामा कलम चलाएका सङ्घर्ष अछामको मंगलसेन नगरपालिका–६ तुलासेनमा जन्मेका हुन् । गृहजिल्लामै बसेर गजल साधना गरेका संघर्ष वि.स. ०६९ सालमा काठमाडौं छिरेका हुन् । 

तीन दशको अन्त्यतिर पुग्दै गरेका सङ्घर्षले गजलमा सङ्घर्ष गरेको डेढ दशक भइसक्यो । यस अवधिमा नेपाली गजलमा उनको नाम चुलिँदो छ । अछाम हुँदै राष्ट्रिय स्तरमा राम्रो गजलकारको छवि बताएका उनी युवामाझ लोकप्रिय छन् । समाजिक सञ्जालमा उनलाई पछ्याउने जमात ठूलो छ  । 

उनी गजल वाचनका लागि देशमा विभिन्न ठाँउ पुग्ने गरेका छन् । जब गजल वाचनका लागि उनी स्टेज चढ्छन् तब हुटिङको ओइरो लाग्छ । उनका गजल विदेशमा समेत उस्तै माग छ । धेरै पटक कुरियर गरेर विदेश गजल पठाएको उनी बताउँछन् । उनका गजलमा वैचारिकी मात्र पाइदैन, प्रेमिल भावहरु पनि पाइन्छ । उनले अछामी भाषामा समेत गजल लेखेका छन् ।
  
दुई वाटा संग्रह बजारमा ल्याएका उनलाई पहिलो गजल संग्रहले नै उचाइमा पुर्यायो । ०७३ सालमा बजारमा आएको उनको ‘सडक गजल संग्रह’ नै चर्चामा रह्यो । यो पुस्तक नेपाली गजल इतिहासमा सबैभन्दा धेरै बिक्री हुने पुस्तकका रुपमा स्थापित छ । तेस्रो संस्करण बजारमा आइसकेको छ ।
 
त्यस्तै संयुक्त गजलसंग्रह ‘कैफियत’ भने ०७० प्रकाशित भएको थियो भने केही महिनाअघि मात्रै उनले ‘खुडी’ गजलसंग्रह ल्याएका छन् । यसका आलावा फुटकर रुपमा लेखिएका थुप्रै गजल छन् । बाबुको पालाको कक्षा ९/१० कक्षाको इतिहास किताब पढेपछि गजल लेखनमा लागेका उनले सत्य अभिव्यक्तिका गजल लेख्दै आएका छन् ।

संघर्षले थुप्रै पुस्कार तथा सम्मान पाएका छन् । उनी ‘अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता–२०७१’ मा प्रथम भएका थिए । ०७४ जोगमाया चापागाईँ राष्ट्रिय पुरस्कार, ०६९ मा मिरमिरे सम्मान, ०६५ सालमा अछाम जिल्ला स्तरिय कविता प्रतियोगितामा द्वितीय भएका थिए । उनले सुरुवाती चरणमा धेरै प्रतियोगितामा पुरस्कार जितेका थिए । प्रतियोगितामा भाग नलिएको एक दश भएको उनी सुनाउँछन् । 

सुरुमा उनी रेडियोमा गजल पठाउँथे । पछि रेडियोमा गजल वाचन कार्यक्रम सञ्चालन गर्ने मौका पाए । त्यसपछि उनको चर्चा चुलिँदै गयो । रेडियोमा काम गर्दा धेरैका श्रृजना बाचन गर्ने मौका पाए । त्यसपछि संघर्ष गजल संसारमा झनै परिचित भए । 

वैदेशिक रोजगारीका लागि मलेसिया पुग्दा पनि उनले गजल लेखन छोडेनन् । कलम र डायरी नै सारथी बन्यो । एक वर्ष मलेसिया बसाइमा उनले एउटा गजल संग्रहको पाण्डुलिपी तयार पारे । नेपाल फर्केर त्यसैलाई ‘सडक’ नाम दिएर प्रकाशित गरे । 

नौखुवा प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका सङ्घर्षले अछामी भाषा, कला, साहित्यको संरक्षण र प्रर्वद्धनका लागि काम गर्दै आएका छन् । अछामी भाषाबाटै गजलसंग्रह निकाल्ने उनको तयारी छ । साथै साहित्यका अन्य विधाहरुको पनि कलम चलाउने उनको सोच छ ।
०००

 ​​​​​​​सुरेश बडाल- कथामा आशा गरिएका

युवापुस्तामा लोकप्रिय साहित्यकार हुन्, सुरेश बडाल । २०४६ सालमा नुवाकोटको विदुर नगरपालिकामा जन्मेका बडाल सानैदेखि साहित्यमा रुचि राख्थे । बालपत्रिका, स्कुलको लाइब्रेरी र घरका पुराना किताबहरू पढ्न केही बाँकी राखेनन् । 

विद्यार्थी जीवनमा उनले थुप्रै कथा, कविताहरू लेखे । तीन कक्षामा पढ्दै उनको कविता पत्रिकामा प्रकाशित भएको थियो । विज्ञान विषय लिएर कलेज पढ्न थालेपछि उनलाई साहित्य लेख्ने फुर्सदै नै मिलेन । तर, एमएसी सकिएपछि भने फेरि उनी साहित्यमै फिर्के । 

०७२ को भुकम्पले उनलाई साहित्य क्षेत्रमा चिनायो । भन्छन्- ‘त्यो बेला भुकम्प नगएको भएन लेख्ने सयम मिल्दैन थियो होला ।’
   
युवा केन्द्रित विषयमा लेख्न रचाउने उनका विभिन्न पत्रपत्रिका तथा अनलाइन पोर्टलमा कविता, कथा, निबन्ध लगायतका रचना प्रकाशित छन् । मसिना घटना परिघटनालाई टपक्क टिपेर सुन्दर कथा सृजना गर्न उनी खप्पिस छन् ।

दुईवटा कृति ल्याएका उनले एउटा नेपालीमा अनुवाद पनि गरेका छन् । ‘रहर’ कथासङ्ग्रह उनको पहिलो कृति हो भने ‘मायाका मसिना अक्षर’ पहिलो उपन्यास । जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नामक ब्राजिलियन युवकको कथा ‘हिप्पी’लाई उनले नेपाली अनुवाद गरेका छन् ।  

फुड माइक्रोबायोलोजीमा स्नातकोत्तर गरेका उनले केही समय शिक्षण पनि गरे । स्कुल र कलेजमा पढाए । तर, अहिले सबै त्यागेर उनी लेखनमै व्यस्त छन् । लेख रचनाका साथ साथै विज्ञापनको स्क्रिप्ट, डकुमेन्ट्री र रियालिटी शोहरु लेख्दै आएका छन् ।
 
सुरु सुरुमा उनी सोखका लागि सामाजिक सञ्जालमा लेखिरहन्थे । सिरिज नै बनाएर लेख्थे । त्यसैले उनलाई साहित्यकार भनेर चिनायो । अहिले उनी प्रोफेसनल रुपमा लेख्दै आएका छन् । आफ्नो सुनौलो करियरलाई दाउमा राखेर लेखनमा लागेका उनले लेखेरै जीवन चलाइरहेका छन् ।

बडाल भन्छन्- ‘विज्ञानको राम्रो विद्यार्थी हुँ पिएचडी गर्न अमेरिका जान सक्थे । यहाँ पढाएरै पनि राम्रो कमाइ गर्न सक्थे । तर, सबै छाडेर लेखनमा लागेको छु, केही पाठक कमाएको छु, यसैमा खुशी छु ।’ 

साहित्य नै आफ्नो जीवन भएको बडाल बताउँछन् । उनको लागि साहित्य मान्छेको भावना, कथा, व्यथा र इतिहासलाई कलात्मक तरिकाले प्रस्तुत गर्ने माध्यम बनेको छ । अब साहित्यमै निरन्तर लाग्ने उनको संकल्प छ । 
०००

सुमन वर्षा- आख्यानका आशा

साहित्यिक वृत्तका अर्का स्रष्टा हुन्, सुमन वर्षा (सुमन घिमिरे) । झापा चारपानेमा जन्मेका उनले विशेषगरि लैंगिक विभेद, समाजका विकृति र विसंगतिविरुद्ध कलम चलाउँदै आएका छन् । उनलाई यर्थायवादी लेखक भनेर पनि चिनिन्छ ।

  
प्रध्यापन पेसाकी सुमन कविता, कथा र उपन्यास लेखनमा सक्रिय छन् । विशेषगरि महिलाका मुद्दालाई उठाउने उनले समाजिक, राजनीतिक र आर्थिक विषयमा लेख्ने गर्छन् । उनी भन्छन्, ‘समाज जति नै रूपान्तरण भयो भने पनि लैंगिक मुद्दा धेरै मात्रमा संवेदनशिल छ । त्यति धेरै परिवर्तन भइसकेको छैन । गर्भमा हुँदादेखि नै यहाँ विभेद छ । न देखौँ न हेरौं भन्दा नै आफूलाई परिरहेको हुन्छ । त्यो कुराले छुन्छ र त्यहीँ विषमा लेख्छु ।’
 
एमफीलसम्म औपचारिक अध्ययन गरेका सुमनले साहित्यमा कलम चलाउन थालेको दुई दशक भइसक्यो । विद्यार्थी जीवनदेखि नै समाजिक विसङ्गति, विकृति र भेदभाव देख्नासाथ डायरीमा लेखिहाल्थिन् । तर, कसैलाई सुनाउँदैन थिए । भन्छन्, ‘त्यसबेला लेखेका डायरीहरु हरायो । पहिलोपटक उपन्यास नै लेखेको थिएँ, त्यो पनि हरायो ।’
  
उनको दोस्रो उपन्यास ‘अन्ततः यन्त्रणा’ उपन्यास गत वर्ष मात्रै बजरमा आएको थियो । ०७० मै उनले पहिलो उपन्यास ‘ढुकुटी’ ल्याएका थिए । त्यस्तै सुमनसहित ६ कविहरूको संयुक्त कवितासंग्रह पनि प्रकाशित भइसकेको छ । फुटकर रचना भने ०५७ सालबाटै राष्ट्रिय पत्रिकामा छापिँदै आएको छ । 

उनले थुप्रै सम्मान र पुरस्कारहरू पनि पाइसकेका छन् । यो वर्ष मात्रै उनी दुईवटा पुरस्कारले सम्मानित भएका छन् । ‘अन्ततः यन्त्रणा’ले रतगोतामे पुरस्कार र हेमन्ते जोशी साहित्यिक सम्मान पाएको छ ।
 
लेखनको अलावा पेन्टिङ उनको रुचि एवं दख्खलको विषय हो । पेन्टिङमा उनी उत्तिकै अब्बल छन् । पेन्टिङ सहितको कविता संग्रह निकाल्ने उनको तयारी छ । उनले सुनाए– ‘नेपाली, अंग्रेजी र अन्य दुईतीन भाषमा पेन्टिङसहित कविता संग्रह निकाल्ने सोचमा छु ।’
 
आफ्ना धेरै कृतिहरू पाइपलाइनमा भएपनि प्रकाशित गर्न हतार नगर्ने उनी बताउँछन् ।  भन्छन्, ‘जतिबेला जे देख्छु, त्यही लेख्छु । नलेखौँ भन्दा पनि मन मान्दैन । त्यसैले धेरै रचना छन्, तर बजारमा ल्याइहाल्ने कुनै हतारो छैन ।’
०००

भवानी खतिवडा- नियात्रामा आशालाग्दो यात्रा

उदयपुरको नेपालटारमा जन्मेका भवानी खतिवडालाई घुम्न खुब मनपर्छ । र, घुमघाम गर्दा देखेका दृश्य र मनले छोएका विषयवस्तुलाई डायरीमा लेख्छन् । यात्रामा भेटेका र देखेका संवेदना, प्रकृतिको जादुगरी एवं अवस्थितिलाई मसिनोसँग केलाउँछन् ।

शास्त्रीय छन्दमा कविता लेख्ने र लयात्मक शैलीमा वाचन गर्न सिपालु खतिवडा पछिल्लो समय नियात्रा लेखनमा व्यस्त छन् । उनको पहिलो नियात्राकृति ‘घामभन्दा पहिले’ प्रकाशन भइसकेको छ । अहिले पनि उनी नियात्रा लेखनमै व्यस्त छन् । निजामती कर्मचारी रहेकी खतिवाडा कामका सिलसिलामा विभिन्न ठाउँमा जाँदा नियात्रा लेख्ने गर्छन् ।

आरडीमा स्नातकोत्तर, कानुनमा स्नातक, एग्रीकल्चरमा डिप्लोमासम्मको औपचारिक अध्ययन गरेका उनी जहाँ जाँदा पनि लेख्न बसिहाल्छन् । लेखेरै राष्ट्रको लागि योगदान गर्ने उनको संकल्प छ । 

भन्छन्– ‘पर्यटन प्रर्वद्धन र भावी पुस्तालाई देशप्रतिको भक्तिभाव जगाउने, देशप्रेम जगाउने काममा लेखेर गर्नुछ ।’ 

उनको साहित्यिक यात्रा भने कविताबाट सुरु भएको थियो । सानैदेखि फुटकर किवता लेख्थिन् । स्कुलको प्रतियोगितामा पुरस्कारहरू जितेपछि उनलाई लेखनमा उर्जा मिल्यो । ०६६ सालमा पहिलोपटक गोरखापत्रमा उनको लेख प्रकाशन भएको थियो । त्यसपछि राष्ट्रियस्तरका पत्रिकाहरूमा उनका लेख, रचना र सिर्जना छापिँदै आएको छ ।
 
‘घामभन्दा पहिले’ नियात्राले उनलाई चर्चामा पुर्यायो । उक्त कृतिले ५० हजार राशीको ‘साहित्य पोस्ट उत्तम कृति’ पुरस्कार पाइन् । त्यो पुरस्कारले अर्को पुरस्कार पनि जन्माइसकेको छ । ५० हजारमा ७५ हजार थपेर उनले उदयपुरको श्री नमूना माध्यामिक विद्यालय उदयपुरगढी विद्यालयमा एक लाख २५ हजार राशिको ‘डिल्ली–अम्बिका कल्याणकारी कोष’ स्थापना गरेका छन् । 

त्यस्तै उनले महाकवि लक्ष्मिप्रसाद देवकोटा पुरस्कार र छन्द अलंकार पुरस्कार पनि पाएका छन् । उनलाई विभिन्न संघ संस्थाले सम्मान पनि गर्दै आएको छ । 

स्कुले जीवनदेखि नै साहित्यमा लागेपनि आमा बनेपछि केही समय लेखनमा ब्रेक लागेको थियो । तर, ६ वर्षदेखि सक्रिय रुपमा लेख्दै आएका छन् ।
 
केही समयअघि उनले सरकारको पर्वतआरोहण अधिकृत भएर सगरमाथाको आधार शिविर यात्रा गरिन् । त्यसबेला उनको अर्का पनि उद्देश्य थियो, नियात्रमा लेख्ने । आफ्नो जिम्मेवारी पूरा गरेपछि उनले सोलुखुम्बुको तीनवटा चर्चित पाथ र गाउँहरुका यात्रा गरिन् ।

आधार शिविर (५३६४ मिटर) भन्दा अग्ला खुङमाला, चोला र रेञ्जोला पाथहरूको यात्रा गरे । त्यस्तै सोलखुम्बुका अन्तिम गाउँहरु गोरक्छेप, छुकुम र गोक्योको पनि यात्रा गरेकी छन् । अहिले सोही नियात्रा लेखनमा उनी व्यस्त छन् ।

त्यस्तै डोप्पा र ताप्लेजुङको नियात्रा लेखन सकिएको छ । उक्त कृति केही समयमै बजारमा आउने खतिवाडा बताउँछन् । यात्रालाई छन्द कविता समेत उनले लेखेकी छन् । त्यो पनि  प्रकाशनको अन्तिम तयारीमा छ ।  

छन्द कवितामा समेत काम गरिरहेका खतिवाडा नियात्रा विधामै कलम चलाउने बताउँछन् । भन्छन्- ‘अहिलेको मेरो योजना भनको नियात्रा नै हो । अब तिलिचो ताल, खप्तड र गोसाइकुन्डको यात्रा गर्ने र नियात्रा लेख्ने योजना छ ।’

उनले अर्का साहित्यकार भुवन सिक्देलसँग मिलेर सरकारी र निजी विद्यालयमा पढाइ हुने छन्द कतिवाबारे काठमाडौं उपत्यकाका शिक्षकहरुलाई चार महिने ‘छन्दा कविता बाचन र लेखन’ प्रशिक्षण पनि दिएका छन् । त्यस्तै सबै झ्याउरे छन्द लयका कवितालाई एउटा संगालो निकालेर प्रतिनिधिमूलक छन्दहरुको बाचनको सिडी पनि तयार गरेका छन् ।

०००

रञ्जना निरौला-  निरन्तर निबन्ध

नेपाली साहित्यिक वृत्तमा क्रियाशील स्रष्टा हुन्, रञ्जना निरौला । तेह्रथुममा जन्मेका उनी मोरङमा हुर्के, काठमाडौँलाई कर्मभूमि बनाए । 

नेपाली र समाजशास्त्रमा स्नातकोत्तरसम्म औपचारिक अध्ययन गरेका निरौलाले साहित्यमा कलम चलाउन थालेको पनि तीन दशक नै भइसक्यो । २०५३ सालमै उनले निबन्ध लेख्न सुरु गरेका हुन् ।  कवि तथा निबन्धकार निरौला कलिङ लिटरेरी फेस्टिभल, काठमाडौँका निर्देशक पनि हुन् । 

विद्यार्थी जीवनदेखि नै निबन्ध लेखनमा लागेका रञ्जना अहिलेसम्म लेखिरहेका छन् । उनलाई कथा, कविता र निबन्ध लेख्न खुब मनपर्छ । ‘कुमारी सपना’ देखि निबन्ध लेख्न थालेका उनले अहिलेसम्म ३०-४० वटा निबन्ध लेखिसकेका छन् ।
 
कल्पना मात्रै नभएर जीवनका यावत पक्षको सूक्ष्म विवेचना, अध्ययन र यथार्थताको धरातलमा टेकेर उनले कदम चलाउँदै आएका छन् । उनले थुप्रै कथा र कविताहरू लेखेका छन् । उनको संयुक्त कविता संग्रह प्रकाशित भइसकेको छ ।
 
तर, पछिल्लो समय उनले विशेषगरि निबन्धलाई प्राथमिकता दिँदै आएका छन् । र, साहित्य वृत्तमा पनि निबन्धकार रञ्जना भनेरै चिनिन्छन् ।
  
उनले सुनाइन्, ‘कथा, कविताजस्तै निबन्ध पनि स्कुलले जीवनबाटै लेख्दै आएको छु ।  निबन्ध मन पर्ने विधा भएकाले यसलाई बढी प्राथामिकता दिने गरेको छु । कथा कविता पनि मन पर्दैन भन्न खोजेकी होइन, कथा कविता पनि मनपर्छ । निबन्ध अलि बढी मनपर्छ ।
 
अहिलेसम्म उनका कवितासंग्रह ‘छरिएका भावना’ ०६७, ‘कलम र म’ २०७४, ‘निषेधाज्ञाका प्रतिविम्बहरू’ (संयुक्त कवितासंग्रह), २०७८  र ‘अनुभुतिको अवतरण’ ०७९ निबन्धसंग्रह प्रकाशित छन् । ‘समयको कटाक्ष’ निबन्ध ०६० सालमै प्रकाशित उनको पहिलो निबन्ध हो । साहित्यका अलावा उनी सम्पादन समेत गर्छन् ।

निबन्धलाई नै निरन्तरता दिँदै यसै वर्ष अंग्रेजी कविता संग्रह निकाल्ने उनको सोच छ । उनले सुनाइन्, ‘निबन्धलाई त निरन्तरता दिने नै छु, तर यो वर्षको अन्त्यसम्ममा एउटा अंग्रेजी कविता संग्रह निकाल्ने योजनामा छु ।’

प्रतिक्रिया दिनुहोस्