Logo
Logo

बैंकिङ कसुरमा तानिदै ढकाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । उद्योगपति र व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थाको डेढ अर्ब रूपैयाँ बराबरको ऋण नतिर्ने तर, बिलासी जीवन बिताउनेहरूलाई अब बैंकिङ कसुरको मुद्दा चल्ने भएको छ । बैंकिङ कसुरको पछिल्लो संस्करणमा कुनै समयका जल्दाबल्दा उद्योगी चण्डीराज ढकाल तानिने भएका छन् । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाट डेढ दशकअघि लिएको पछिल्लो ३१ करोड रूपैयाँ साँवा र सोको ब्याजसमेत गरी हुन आउने करीब डेढ अर्ब ऋण चुक्ता गर्ने कुनै लक्षण नदेखाएपछि ढकाललाई बैंकिङ कसुुरको मुद्दा लगाउने तयारी भएको हो । तत्कालीन काँग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको सरकारले नियुक्त गरेको बैंकका तत्कालीन कार्यकारी अध्यक्ष राजेश्वर आचार्यका छोरी ज्वाईं ढकाललाई बैंकले ऋण चुक्ताको लागि अन्तिम अवसर दिने तयारी गरेको छ । तर, सो अवधिमा पनि उनले ऋण चुक्ताको पहल नगरेमा बैंकिङ्ग कसुरको मुद्दा लगाइने लगभग तय भएको राष्ट्रिय वाणिज्य बैंक स्रोतले बताएको छ ।

यसअघि पनि कालोसूचीमा परेका ढकालले केही समयअघि बैंकलाई १० करोड रूपैयाँ ऋण तिरेर पुनर्संरचना पश्चात् झापामा रहेको मोमेण्टो एपेरेल्स पुनः सञ्चालन गर्ने वचन दिएका थिए । तर अहिलेसम्म पनि तयारी पोशाक सम्बन्धी उक्त कम्पनी सञ्चालन गर्ने कुनै प्रस्ताव बैंकमा पेश नगरेका कारण बैंकले कानूनी प्रक्रिया अवलम्बन गर्न लागेको हो । ऋण चुक्ताको लागि नियमित सम्पर्कमा रहनुपर्ने ऋणी ढकाल लामो समयदेखि सम्पर्कविहीन रहेको बैंक स्रोतले बताएको छ । स्मरणरहोस्, विभिन्न कोणबाट राजनीतिक प्रभावको लागि लागिपरेका ढकाललाई वाणिज्य बैंकको ऋण चुक्ता गर्न स्वयम् प्रधानमन्त्री र अर्थमन्त्रीले समेत चेतावनी दिएको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ ।

ढकालको ऋणको सम्बन्धमा बैंकले गत असार मसान्तभित्र ऋण चुक्ता नगरेमा बैंकिङ कसुरको मुद्दा लगाउने तयारी गरिएको थियो । तर, आपसी सहमतिमा बैंकले नै २०७६ असार मसान्तभित्र तिर्नुपर्ने सावाँ तथा ब्याजको भुक्तानीको सीमा साउन मसान्तसम्मका लागि पर सारेको थियो । साउन मसान्तमा पनि ढकालले तिर्नुपर्ने ऋणको साँवा र ब्याज नतिरेपछि बैंक व्यवस्थापन अन्तिम अवसर दिएर केही समय भित्र ऋण असूलीको प्रक्रिया अघि बढाउने तयारीमा लागेको हो ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंक र स्वयम् अर्थ मन्त्रालय समेत ढकालको ऋण चुक्ता गर्ने समय लम्ब्याउने योजनामा बाधक बनेपछि ढकाल यतिखेर उद्योग वाणिज्य संघको नेतृत्वलाई विभिन्न प्रलोभन र आश्वासनमा राजनीतिक बार्गेनिङमा लागेको वाणिज्य बैंक स्रोतले बताएको छ । ‘तारन्तार उद्योग वाणिज्य संघका पदाधिकारीहरूमार्फत् ऋण चुक्ताको अवधि लम्ब्याउन ढकालले विभिन्न दबाब दिएका छन्’ बैंकका एकजना उच्च अधिकारीले बताए । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग निकट रहेका ढकालले महासंघ कार्यसमितिका प्रभावशाली पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो ऋण चुक्ता गर्न आर्थिक सहयोग गर्नुपर्ने अन्यथा, विधान संशोधन गरेर उपाध्यक्षहरूलाई स्वतः अध्यक्ष हुन नदिने चेतावनी दिएका छन् । राणाको साथ लिएर महासंघका केही धनी पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो ऋण चुक्तामा साथ दिन बार्गेनिङ गरिरहेका ढकाल समय घर्किंदै गएपछि अब केही साताभित्र ऋण चुक्ता नगरेमा स्वतः कालोसूचीमा पर्नेछन् ।

ढकाल विभिन्न बहानामा ऋण चुक्ता नगरी महासंघमा शक्ति प्रयोग गर्ने योजनामा छन् । तर, हिजोका दिनमा जस्तो उनको शक्ति त्यत्ति देखिँदैन । नेपाली काँग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको शासनकालमा शक्तिको चरम दुरूपयोग गरेका ढकाल एक पछि अर्को समस्यामा परेका हुन् । उनी यतिखेर झापाका प्रधानमन्त्री र अर्थमन्त्रीसँग आफ्नो राम्रै्र सम्बन्ध रहेको भन्दै वाणिज्य बैंकका अधिकारीहरूलाई अप्रत्यक्ष रूपमा दबाब दिइरहेका छन् । उनले पाँच वर्षअघि ऋण चुक्ता गर्न सक्थे । तर, विभिन्न सहुलियतको योजना बनाउँदै न्यूनतम रकम तिरेर ऋण चुक्ता गर्ने ढकालको योजना क्रमशः तुहिँदै गएको हो ।

स्रोतका अनुसार यतिखेर महासंघको विभिन्न टोलीले ढकाललाई तत्काल ऋण चुक्ता गर्नबाट जोगाउन पटक पटक मन्त्री तथा प्रधानमन्त्रीलाई भेटिसकेको छ । तर, महासंघकै केही पदाधिकारी भने योजनाबद्ध तरिकाले बैंकको ऋण नतिरेर कालोसूचीमा पर्न लागेको व्यक्तिलाई जोगाउन हिँड्नुु गलत रहेको बताएका छन् । सो बारेमा महासंघका एकजना पदाधिकारीले भने ‘अध्यक्ष राणाले ढकालजीको गलत अनुरोधलाई अस्वीकार गर्न सक्नुभएको छैन । उहाँको यस्तो गलत कार्यले महासंघलाई रसातलमा पु¥याउने छ ।’

प्रतिक्रिया दिनुहोस्