Logo
Logo

अर्घाखाँचीमा एकै गाउँका ५ जना उम्मेदवार, कसले मार्ला बाजी ?


14k
Shares

अर्घाखाँची । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अर्घाखाँचीमा एकै गाउँका पाँच जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको १ र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन पदका लागि जम्मा २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा पाँच जना सन्धिखर्क नगरपालिका–९ अर्घाका छन् ।

नेकपा एमालेबाट प्रतिनधिसभामा उम्मेदवारी दर्ता गराएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका पूर्व उपसभामुख पुष्पा भुसाल, प्रदेशसभा ‘क’ मा नेकपा एमालेबाट चेतनारायण आचार्य, नेकपा माओवादीबाट ठाकुर कुमार विक र स्वतन्त्रबाट वसन्त केसीसहित पाँच जना एउटै गाउँका छन् ।

प्रतिनिधिसभाको एक मात्र क्षेत्र रहेको अर्घाखाँचीमा १२, प्रदेशसभा (क) का लागि आठ र प्रदेशसभा (ख) का लागि नौ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले बताए । अर्घाखाँचीमा प्रतिनिधिसभाको लागि नेपाली कांग्रेसबाट पूर्व उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेबाट पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभाको लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, नेपाल मजदूर किसान पार्टीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारु र स्वतन्त्रबाट पशुपति ढकाललगायत १२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत सुरेश भट्टराईले जानकारी दिए ।

प्रदेशसभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुरकुमार विक, नेकपा एकीकृत समाजवादीबाट रामबहादुर चौहान, राजमोबाट सागर केसी, राप्रपाबाट झविन्द्र फुल्लेल र स्वतन्त्रबाट राजन नेपाली लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा (ख) का लागि नेपाली कांग्रेसबाट नेपाली कांग्रेसका पूर्व पार्टी सभापति सन्धिखर्क नगरपालिकाका संस्थापक नगरप्रमुख कमलप्रसाद भुसाल र एमालेबाट पूर्व प्रदेश सांसद रामजीप्रसाद घिमिरे, राजमोबाट जीवलाल पौडेल, जसपाबाट टुकबहादुर चेवाली, राप्रपाबाट चेतबहादुर पौड्याल र स्वतन्त्रबाट बाबुराम रोकामगर र चिरञ्जीवी अर्याल लगायतले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत महेश खनालले बताए । प्रतिनिधिसभा निर्वाचनमा मुख्यतया रायमाझी र भुसालबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्