Logo
Logo

यसरी गर्नुहाेस् जाडोमा छालाको सुरक्षा



काठमाडौं । जाडोयाम सुरु भएसंगै मानीस लगायत अन्य धेरै प्राणीको जिवन यापनमा परिवर्तन आउने गर्दछ । मौसम आएको परिवर्तनले हाम्रो रहन सहन खानपान र दैनिकि पनि बदलिने भएकाले विभिन्न सिसिमको समस्या देखिने गर्छ ।

चिसोको कारण हामीलाई विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छ । त्यसमध्ये छाला सुख्खा हुने समस्या पनि एक हो । जाडोमा पसिना र चिल्लो निकाल्ने ग्रन्थीले राम्रोसँग काम नगर्दा छालामा विभिन्न किसिमका समस्याहरु देखिन्छन्।

छाला चिलाउने, फुस्रो हुने, चाया–पोतो आउने जस्ता समस्या जाडोमा देखिने गर्छ। जाडोमा सबैखाले छाला रुखो र सुख्खा हुने हुँदा यो बेला विशेष ख्याल गर्नुपर्ने छाला, यौन तथा सौन्दय विषेशज्ञ डा.सञ्जुबाबु श्रेष्ठ बताउँछन्।

डा. श्रेष्ठका अनुसार जाडोमा छालालाई सुख्खापनबाट बचाउन आवश्यक हुन्छ। जाडोमा धेरैलाई चिसो पानी छुन मन लाग्दैन, तातोपानीमा नुहाउन सबैले मन पराउँछन् ।

तर, तातोपानीमा सधैँजसो नुहाउँदा शरीरमा हुने नरमपना तातोपानीसँगै पखालिएर जाने भएकाले छालामा सुख्खापनको समस्या आउने गर्छ। डा. श्रेष्ठले आफ्नो त्वचा र छालाको सुरक्षाका लागि यी विधि अपनाउन सुझाव दिएका छन्ः

जाडो याममा छालालाई जोगाउन के गर्ने ?
चिसोमा छाला सुख्खा हुने हुनाले पर्याप्त चिल्लो पदार्थ भएको मोस्चराइजर दिनमा २ या ३ पटक लागाउने गर्नुपर्दछ । सबैसँग बजारमा पाइने महँगो मोस्चराइजर नहुन सक्छ । त्यसका लागि घरेलु तरिकाबाट पनि छालालाई सुख्खापनबाट बचाउन सकिन्छ। शरीरमा नरिबलको तेल, तोरीको तेल अथवा जैतुन तेल लगाएर पनि सुख्खापन कम गर्न सकिन्छ।

महलाई प्राकृतिक मोइस्चराइजर पनि भन्ने गरिन्छ । यसमा एन्टी अक्सिडेन्ट तत्वका साथै रोग निरोधी गुण हुन्छ । यसबाहेक, महमा कयौ प्रकारका भिटामिन तथा खनिज पाइन्छ, जसले छालालाई नरम राख्न मद्दत गर्छ ।

जाडोमा महिलाहरुमा चिसोमा काम गर्ने बित्तिकै हातखुट्टा सुनिने, रातो हुने, फुट्ने चिलाउने, पानीको फोका आउने र फुटेर घाउँ हुने समस्या देखिने गर्छ। जसलाई चिकित्सकीय भाषामा ‘चिलबेल्न’ भनिन्छ।

चिलबेल्नको समस्या आउन नदिनुका लागि लुगा धोएपछि, भाँडा माझ्दा या कुनै पनि काममा चिसोपानी प्रयोग गर्दा पञ्जाको प्रयोग गर्ने। सकेसम्म चिसो समयमा धेरैबेरसम्म चिसो पानीको सम्पर्कमा नबस्ने।

अनि तातोपानीले ननुहाउने। किनभने तातोपानीले नुहाउँदा छाला खुम्चिने तथा फुस्रो हुन्छ। सके चिसो नभए मनतातो पानीले नुहाउनु राम्रो हुन्छ।

चाया बढी पर्ने समस्या रहेका व्यक्तिले आफुलाई उपयुक्त हुने एन्टीडेन्ड्रफ स्याम्पुले हप्तामा कम्तिमा दुईपटक टाउको नुहाउने। नुहाउने क्रममा स्याम्पुले कपाल राम्रोसँग मसाज गरेर मात्रै पखाल्नु पर्छ।

नुहाउने साबुनको छनोटमा ख्याल गर्ने। कडा खालको साबुनको सट्टा मोस्चराइजरयुक्त साबुनको प्रयोग गर्नुपर्छ। नुहाएपछि नरम कपडाले शरीर पुस्ने। तर, धेरै सुख्खा हुने गरी वा छाला रगडिने गरी पुस्नु हुँदैन।

जाडोमा छाला तुलनात्मक रुपमा बढी फुस्रो हुने भएकाले मोस्चराइजरयुक्त बडीलोशन लगाउने। जाडोमा पानी पनि कम पिउने गरिन्छ। सकेसम्म पानी धेरै पिउने, नभए रसिलो फलफूल तथा झोलिलो खाना बढी खाने गर्नुपर्छ। यसले छालाको सुरक्षामा सहयोग पुर्याउँछ।

घरबाट बाहिर निस्कँदा हातमा पञ्जा, खुट्टामा मोजा, मुखमा माक्स तथा चस्माको प्रयोग गर्ने। यी विधि अपनाएमा तपाई छाला सधैँ चम्किलो स्वस्थ रहन्छ।

प्रतिक्रिया दिनुहोस्