Logo
Logo
दृष्टिका १० हेडलाइन्सः

खेलकुदमा कीर्तिमानको ओइरोदेखि निर्वाचनको चहलपहलसम्म


630
Shares

१.  निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलको निर्वाचन लक्षित कार्यक्रमले तीव्रता पायो, राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवारसहित घरदैलो कार्यक्रममा व्यस्त हुन थाले, सबै राजनीतिक दल घोषणापत्र जारी गर्ने तयारीको अन्तिम चरणमा ।

२. सामाजिक सञ्जालको प्रयोगबाट निर्वाचन आचारसंहिता उल्लङ्घनको घटना बढेपछि निर्वाचन आयोगले चिन्तित, सामाजिक सञ्जाल फेसबुकका प्रतिनिधिसँग सामाजिक सञ्जालबाट हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रणमा सहकार्य गर्ने विषयमा छलफल, निर्वाचनलाई लिए र सामाजिक सञ्जालको प्रयोगमा कडाइ ।

३. निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोक्यो, जिल्ला अनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने, काठमाडौंका निर्वाचन क्षेत्रभन्दा दुर्गम जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारले बढी खर्च गर्न पाउने ।

४. नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय पार्ने म्याद थप्यो, कात्तिक ४ गतेसम्म वक्तव्य निकालेर उम्मेदवारी फिर्ता लिने घोषणा गरे कारबाही फुकुवा हुने, उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकलाई साधार सदस्यसमेत नरहनेगरी कांग्रेस कारबाही गर्ने चेतावनी ।

५. पार्टी र सत्तारुढ गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार, प्रस्तावक र समर्थकलाई कारवाही, पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी दिएकाहरू पार्टीबाट निस्कासित, पार्टी एवं गठबन्धनभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धतासहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेद्वारी निस्क्रिय गराएकाहरूको कारबाही फिर्ता ।

६. रुपन्देही–२ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट मनोनयन दर्ता गराए नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी कायम, गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी, राजु गुरुङको उम्मेदवारी सदर भएसँगै एमालेको उम्मेदवार विष्णु पौडेललाई चुनौति थपियो ।

७. वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको शोकमा सरकारद्वारा कात्तिक १ गते सार्वजनिक बिदा घोषणा, जोशीको शोक र सम्मानमा कात्तिक १ गते देशभर सार्वजनिक बिदा हुने, देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने सरकारको निर्णय ।

 ​​​​​​​८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको ओरालो यात्रा जारी, शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ६ दशमलब ३८ अंकले ओरालो लागेर १ हजार ८ सय ५४ दशमलब ५५ मा झर्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ६५ अंकले ओरालो लागेर ३ सय ६४ दशमलब ७७ मा सीमित ।

९. नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतिस्पर्धामा एकैदिन सात कमेन्ट्समा राष्ट्रिय कीर्तिमान कायम, चार सय मिटर फ्रिस्टाइलमा आर्मीका नारिस हुसेनले ४ मिनेट ०४.६४ सेकेन्डमा पौडिदै नयाँ राष्ट्रिय कीर्तिमान बनाए, नारिसले सय मिटर बटरफ्लाई ७.८६ सेकेन्डका पुरा गर्दै अर्को कीर्तिमान थपे, एनआरएनकी एस्ले सापकोटा डंगोलले सय मिटर बटरफ्लाइमा १ मिनेट ०७.७४ सेकेन्डका साथ नयाँ कीर्तिमान बनाए ।

१० रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोपको ठहर, युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक सङ्कटका कारण अहिले थप २८ लाख बालबालिका गरिबीको रेखामुनि रहेको तथ्याङ्क, युद्धका कारण उत्पन्न परिस्थितिले थप ४ हजार ५०० बालबालिकालाई आफ्नो पहिलो जन्मोत्सव अघि नै  मृत्यु वरण गर्न विवश बनाउने दुखान्त प्रक्षेपण ।

प्रतिक्रिया दिनुहोस्