Logo
Logo

रुख, हँसिया हथौडा र कलम चिन्हमा मतदान गर्न प्रधानमन्त्रीको आग्रह


819
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तागठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर देशमा स्थायी शान्ति र लोकतन्त्र स्थापनामा सहयोग गर्न आह्वान गरेका छन् ।

ललितपुर जिल्लास्तरीय वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले आगामी आमनिर्वाचनमा रुख भएको ठाउँमा रुखमा, हसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा र कलम भएको ठाउँमा कलम चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरे ।

गठबन्धन दलका उम्मेदवारलाई कांग्रेसका सबै नेता कार्यकर्ता तथा आफूले पनि स्थानीय तहको निर्वाचनमा भोट हालेको प्रसङ्ग उल्लेख गर्दै उनले आगामी निर्वाचनमा पनि गठबन्धन दलका उम्मेदवारलाई सबैले सबैलाई भोट हाल्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले भने, ‘संसद बचाउन यो गठबन्धन बनेको हो, यो राम्रो सँग चलेको छ । सबैबाट सहयोग प्राप्त भएको छ । आपसी विश्वास कायम छ । यसका लागि सबैलाई धन्यवाद ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक संसद भङ्ग गर्नुभएको प्रसंग उल्लेख गर्दै उनले जनताले चुनेको संसद मन लाग्यो भन्दैमा लहडमा भंग गर्न नपाईने बताए । यस्तै नहोस् भनेर नै संविधान बनाउँदा सो बारेमा संविधानमा आवश्यक व्यवस्था उल्लेख गरेको उनले जानकारी गराए ।

लोकतान्त्रिक प्रणालीमा निर्वाचन गर्ने निर्धारित र आवधिक समय हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोही समयानुसार नै अहिले निर्वाचन हुन लागेको स्पष्ट पारे । ‘हामीले अपनाएको राजनीतिक प्रणाली अनुसार नै अहिले आवधिक निर्वाचन पाँच वर्षमा हुन लागेको हो’, उनले भने ।

मुलुकमा एकातिर कोभिड-१९ महामारीको असर र डेङ्गु रोगको सङ्क्रमण तथा अर्काेतिर आर्थिक अवस्थामा देखिएको समस्याका बाबजुद सबैको सहयोगले समाधान उन्मुख भएको उल्लेख गर्दै उनले सबै मन्त्रीले राम्रो काम गर्नुभएको बताए । त्यसैले नेपाल असफल राज्य हुन बाट बचेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले नेपालको अपार संभावना भएको जलस्रोतको दिगो उपयोग गरेर निर्यात गर्न सकिने उल्लेख गरे । उनले उत्पादित विजुली भारतले किन्ने सहमति भएकाले बजारको समस्या नरहेको र यसैबाट मुलुकले समृद्धि हासिल गर्ने अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस्