
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्रकुमार उदास निर्वाचन आचारसंहिता विपरीत नेकपा एमालेको चुनावी कार्यक्रमहरुमा सहभागी हुँदै विपक्षीविरुद्ध भाषण गर्ने गरेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्न र भोट माग्न पाउँदैनन् ।
तर, मेयर उदास भने एमालेका हरेक चुनावी कार्यक्रममा सहभागी हुने गरेका छन् । बिहीबार षडानन्द–६ ‘केउरेनी पानी’मा एमालेले चुनावी सभा आयोजना गरेको थियो । उक्त कार्यक्रममा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेरधन राईसँगै मेयर उदास पनि सहभागी थिए ।
निर्वाचन आचारसंहिता उलङ्घन गर्दै एमालेको सभामा सहभागी भएका उदासले एमालेका उम्मेदवारका लागि भोट मात्रै मागेनन्, विपक्षी दलका उम्मेदवारविरुद्ध अनेक आरोप लगाउन समेत भ्याए ।
जनप्रतिनिधिले आफू निर्वाचित भएको स्थानीय तह बाहेकका क्षेत्रमा भने आचारसंहिता प्रतिकुल नहुने गरी प्रचार प्रसार गर्न पाउँछन् । तर, त्यस्तो अवस्थामा स्थानीय सरकारको स्रोत साधन प्रयोग गर्न पाउँदैनन् ।
मेयर उदास भने षडानन्द नगरपालिकाकै सवारी साधन प्रयोग गरी एमालेको प्रचार प्रसारमा सहभागी हुने गरेका छन् । आफू मात्रै नभएर एमालेका अन्य नेता कार्यकर्ताका लागि समेत नगरपालिकाकै साधन र इन्धन प्रयोग गर्दै आएको आरोप लागेको छ ।
मेयर उदास आचारसंहिता विपरीत एमालेको सभाहरूमा सहभागी भएपछि जिल्ला आचारसंहिता अनुगमन समितिमा उजुरी परेको छ । उजुरी परेसँगै समितिले उदासलाई स्पष्टीकरण सोध्ने तयारी गरेको बुझिएको छ ।
स्थानीय सरकारका जनप्रतिनिधिले आचारसंहिता उल्लङ्घन गरेको गुनासो बढेपछि निर्वाचन आयोगले यसअघि नै जिल्ला आचारसंहिता अनुगमन समितिका अधिकृतहरूलाई स्थानीय तहको कार्यपालिकाका पदाधिकारी र सदस्यले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा स्पष्टीकरण सोधी तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन जिल्ला निर्देशन दिइसकेको छ ।
आचारसंहिताविपरीत एमालेका उम्मेदवारलाई भोट माग्दै मेयर उदास (भिडियो)











