
म्याग्दी । पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ ।
बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न बारीमा व्यस्त हुने मतदातासँग भोट माग्न उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् ।म्याग्दीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका खमबहादुर गर्वुजा र प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का हरि भण्डारी र (ख)मा रेशम जुग्जालीसहित निर्वाचन प्रचार–प्रसारको टोली घरदैलो अभियानमा केन्द्रित भएका छन् ।
जिल्लास्तर, दुवै प्रदेशसभा क्षेत्र र छवटै स्थानीय तहमा गठबन्धनको तर्फबाट संयुक्त निर्वाचन परिचालन समिति गठन गरिएको र वडा तहसम्म नै चुनाव प्रचार–प्रसार समिति गठन गरेर घरदैलो अभियान गरिरहेको निर्वाचन परिचालन समितिका संयोजक कर्णबहादुर भण्डारी (केवी)ले जानकारी दिए ।
गठबन्धनको मुख्य प्रतिस्पर्धी दल नेकपा (एमाले)ले समेत घरदैलो अभियान चलाएको छ । एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षेत्रीको टोलीले रघुगङ्गाको विभिन्न वडा, टोल र बस्तीमा पुुगेर मतदातासमक्ष भेटघाट सुरु गरेका छन् ।
प्रदेशसभा (ख)मा पनि एमाले उम्मेदवार यामबहादुर गर्बुजासहितको टोलीले घरदैलो अभियानमार्फत मतदाता भेटघाट गरेका छन् ।











