काठमाडौं । बाम लोकतान्त्रिक गठबन्धन पाँचथर सम्पर्क निर्वाचन परिचालन मूल समितिको पहिलो बैठकले मूल समिति अन्तर्गतका आर्थिक ब्यबस्थापन, प्रचारप्रसार, मतदाता तथा यातायात व्यवस्थापन समितिको कार्यविभाजन गरेको छ ।
काठमाडौंको पेरिसडाँडास्थित सम्पर्क कार्यालयमा सम्पन्न बैठकले प्रचारप्रसार तथा सूचना समितिको संयोजकको जिम्मा नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय केन्द्रीय प्रकाशन तथा प्रचार समितिका सदस्य बिन्देश्वर खनाल र सहसंयोजकको जिम्मा नेकपा एकीकृत समाजवादी केन्द्रीय प्रचार विभागका सदस्य तथा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य लेखनाथ सिकारु र नेपाली कांग्रेसका संगीता सुहाङलाई दिइएको छ ।

यस्तै, आर्थिक व्यवस्थापन समितिका संयोजकमा नेपाली कांग्रेसका देबीप्रसाद काफ्ले र सहसंयोजकमा माओवादी केन्द्रका शेरबहादुर तुम्वापो तथा नेकपा एकीकृत समाजवादीका महेन्द्र निरौलालाई सहसंयोजकको जिम्मेवारी तोकेको छ ।
त्यसैगरी, मतदाता तथा यातायात व्यवस्थापन समितिको संयोजकमा नेकपा एकीकृत समाजवादी बिक्रम भट्टराईलाई संयोजक र नेपाली कांग्रेसका अमृत योङ्या र माओवादी केन्द्रका दिपक लामालाई जिम्मा दिएको छ । सम्बन्धित समितिहरूको छुट्टाछुट्टै बैठकले कार्ययोजना बनाई तोकिएको जिम्मेवारी पूरा गर्ने अधिकार दिइएको हो ।
जिम्मेवारीअनुसार प्रचारप्रसार समितिको बैठक चाँडै बसेर प्रचार कार्यलाई तिव्रता दिने र सामाजिक सञ्जालको सूक्ष्म अध्ययन र बिशेषणसमेत गरिने संयोजक खनालले बताए ।
बैठकमा मूल समिति अन्तर्गतका आर्थिक व्यवस्थापन, प्रचारप्रसार, मतदाता तथा यातायात व्यवस्थापन समितिका सदस्यहरू र सल्लाहकारहरूको समेतको उपस्थिति थियो ।
बाम लोकतान्त्रिक गठबन्धन पाँचथर सम्पर्क निर्वाचन परिचालन मूल समितिको संयोजक लक्ष्मीनारायण तिम्सिनाको अध्यक्षतामा बैठक बसेको थियो ।
पाँचथर जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई जिताउन काठमाडौंमा भएका मतदाताहरूलाई मतदाता शिक्षा निर्वाचन जागरण अभियानसहित चुनावमा केन्द्रित गर्ने अभिप्रायले समितिहरू गठन भएको मूल समितिका सहसंयोजक गंगाप्रसाद रिजालले बताए ।
मंसिर ४ गतेको निर्वाचनमा पाँचथरमा संघीय संसदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको तर्फबाट भिष्मराज आङदेम्वे, प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु र प्रदेश २ मा नेकपा माओवादी केन्द्रका ईन्द्र आङवो मौसम उम्मेदवार रहेका छन् ।











