Logo
Logo

चिसोमा डेङ्गीको जोखिम कति ?


819
Shares

काठमाडौं । नेपालमा गत जेठ महिनादेखि नै डेङ्गीको बिरामीहरूको सङ्ख्या उकालो लाग्न थालेको थियो। साउन महिनाको मध्यदेखि भने सङ्क्रमण ह्वात्तै बढेको सरकारी तथ्याङ्क छ। त्यसको एक महिनामा यो रोगले प्रकोपको रूप लिन थाल्यो।

अवस्था उत्कर्षमा पुग्दा पनि डेङ्गीको कुन प्रकार अर्थात् सीरोटाइप फैलिएको हो भन्नेबारे परीक्षण भएको थिएन। यसैसाता धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १२ जना डेङ्गीका बिरामीहरूबाट नमुना सङ्कलन गरी परीक्षण गर्‍यो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग प्रमुख डा. गोकर्ण दाहालका अनुसार तीमध्ये सातवटा नमुनामा सीरोटाइप वन र पाँच वटामा सीरोटाइप थ्री पुष्टि भयो। ‘सानो नमुनामा दुई प्रकारको सङ्क्रमण देखियो। तर देशव्यापी रूपमा यी दुई सीरोटाइप नै फैलिएका हुन् भन्ने प्रमाणित गर्न धेरै नमुनाको परीक्षण आवश्यक पर्छ,’ उनले भने।

डा. दाहालका अनुसार सातवटै प्रदेशका विभिन्न अस्पतालबाट डेङ्गी प्रकोप उत्कर्षमा रहँदाको नमुनाहरू सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ। ‘ती नमुना अध्ययनपछि कुनकुन सीरोटाइप फैलियो भन्ने कुरा पुष्टि हुन्छ।’ यद्यपि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणलाई आधार बनाइ नेपालमा पहिलोपटक डेङ्गीको सीरोटाइप थ्री फैलिएको विवरणहरू सार्वजनिक भएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार बाँके, दाङ, काठमाडाैं, नेपालगन्जसहितका ठाउँमा एकै समयमा फरक-फरक किसिमका सीरोटाइप फैलिएको जनाइएको छ। तर सबै सीरोटाइप एकै पटक फैलिए पनि तीमध्ये एउटाको प्रभाव बढी हुने डा पुनकाे भनाइ छ ।

हिउँद लागेसँगै लामखुट्टे कम हुने भए पनि अझै केही साता यो पूर्ण रूपमा नसकिने विज्ञहरूको आकलन छ। यो प्रकोप उत्कर्षबाट ओर्लिँदै गए पनि सङ्क्रमण शून्य हुन समय लाग्ने डा. पुन बताउँछन्। उनी भन्छन्,’चिसो मौसम सुरु हुँदैमा लामखुट्टे नआउने र डेङ्गी हराउने भन्ने हुँदैन। दशैँतिहारपछि प्रायः गर्मी ठाउँबाट काठमाण्डू आउने मानिसहरूमा यो रोग देखिन्छ। यो विगतको अनुभव हो।’

त्यस्तै इपिडिमियोलोजी अफ डेङ्गी भाइरस इन्फेक्शन इन नेपाल, २००६-२०१९ नामक एक अनुसन्धानको निष्कर्षमा पनि लेखिएको छ,’नेपालमा डेङ्गी सङ्क्रमणको दायरा बढेको छ र यो देशको तल्लो भेगहरूबाट माथिल्लो भेगतर्फ उक्लिरहेको छ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का शोधकर्ता डा. विष्णु मरासिनीका अनुसार परिषद्ले सन् २०१९ को डेङ्गी प्रकोपपछि गरिएको अनुसन्धानमा पनि हिमाली भेगमा डेङ्गी भाइरस सार्ने लामखुट्टे फेला परेको थियो। साथै दोलखाजस्ता माथिल्लो भेगका मानिसहरूमा डेङ्गी पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्