Logo
Logo

रुपन्देही-२ : गठबन्धनलाई अझै मौका


32.3k
Shares

बुटवल । रुपन्देही–२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएको छ । गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेपछि रुपन्देही–२ सत्ता गठबन्धन उम्मेदवारविहीन भएको हो ।

गठबन्धनका उम्मेदवार नभएपछि नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल प्रतिस्पर्धीविहीन भएका छन् । यो क्षेत्रमा लगातार २०६४, २०७० र २०७४ को चुनावमा जितेर ह्याट्रिक गरेका पौडेललाई अहिले पनि हाइसञ्चो भएको छ । एमालेका कार्यकर्ताहरु ‘पोखरेलको जीत सुनिश्चित’ भन्न थालेका छन् ।

तर, गठबन्धनलाई अझै मौका छ । रुपन्देही–२ मा १८ जनाले उम्मेदवारी दर्ता गराएकामध्ये राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा. निकोलस ‘कमल भुसाल’ र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको छ ।

कमल भुसाल उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च गएका छन् । उनको मुद्दाको पेशी कात्तिक १५ गते छ । यदि उनको उम्मेदवारी कायम भएमा यो क्षेत्रमा १६ जना उम्मेदवार हुनेछन् ।

त्यसैले सत्ता गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्न तीमध्येका बलियो उम्मेदवारलाई समर्थन गर्न सक्छ । त्यसरी समर्थन गरेको खण्डमा ‘पोखरेलको जीत सुनिश्चित’ भनिहाल्ने अवस्था आउँदैन ।

नेकपा माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जीसी पनि एमाले बाहेकका बाँकी रहेका उम्मेदवारमध्ये जो बलियो छ, उसलाई समर्थन गरेर जान सकिने बताउँछन् । जसले गर्दा पोखरेलको जीत सुनिश्चित नहुन सक्छ ।

कांग्रेस रुपन्देही–२ का क्षेत्रीय सचिव प्रजापाल गिरिले कसलाई समर्थन गर्ने भन्ने निर्णय केन्द्रको गठबन्धन कार्यदलले गर्ने बताएका छन् । उनका अनुसार त्यसबारे गठबन्धनको बैठक बसेर निर्णय गर्ने भएको छ ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम विकले पनि सत्ता रुपन्देही–२ मा अब कसलाई समर्थन गर्ने भन्नेबारे गठबन्धनको बैठकले गर्ने निर्णय बताएका छन् ।

बुटवल उपमहानगरको १ देखि १३, सैनामैनाको १ देखि ४ र तिलोत्तमाको १ देखि ६ नम्बर गरी २३ वटा वडा पर्ने रुपन्देही–२ मा प्रदेशसभा (क) तर्फ ६४ हजार ४५२ र (ख) तर्फ ६४ हजार २२५ जना गरी १ लाख २८ हजार ६७७ मतदाता छन् ।

राजनीतिक विश्लेषक ऋषि आजादका अनुसार यो क्षेत्रमा कांग्रेसको उम्मेदवार भए पौडेलसँग कडा प्रतिस्पर्धा हुनसक्छ । तर, अन्य दल जोसुकै उम्मेदवार भएपनि पौडेललाई फरक नपर्ने अवस्था हुन्छ । यो क्षेत्रमा पौडेलले ह्याट्रिक गर्दा कांग्रेस प्रतिस्पर्धी थियो । र, अहिले पनि एमालेपछि यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ ।

सत्ता गठबन्धनबीच सिट भागबन्डा हुँदैगर्दा यो क्षेत्र कांग्रेसले मागेको थियो । तर, गठबन्धनबीच कुरा नमिल्दा एकीकृत समाजवादीका राजु गुरुङलाई साझा उम्मेदवार बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्