काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनको आगामी कार्यक्रम सरकारी संस्थाहरुलाई बलियो बनाइ देशमा सुशासन प्रदान गर्नु रहेको बताएका छन् ।

आज ((सोमबार) गठबन्धनले आयोजना गरेको वागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पूर्व भट्टराईले गठबन्धनको मुख्य एजेण्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवाहरुलाई स्वरोजगार प्रदान गर्नु रहेको बताए ।
उनले गठबन्धनले देशमा छिटो विकास र समृद्धिको चाहनालाई पूरा गर्ने प्रतिवद्धता समेत जनाए । अध्यक्ष भट्टराईले नेपालको सन्दर्भमा नेपालले आफ्नै मौलिक विकासलाई प्राथमिकता दिनुपर्ने भन्दै बजार र राज्यको सन्तुलित भूमिका भएको मिश्रित प्रकारको विकासको मोडेल आवश्यक रहेको बताए । वैचारिक, भूराजनीतिक, आर्थिक ढंगले समानता कायम गरेर यो गठबन्धन बनाएको पनि उनले दाबी गरे । उनले अहिलेको गठबन्धनलाई कतिपयले अपवित्र गठबन्धन भन्ने गरेको भन्दै अहिलेको गठबन्धन नै सबैभन्दा पवित्र गठबन्धन भएको दाबी गरे ।
उनले सत्ता गठबन्धन युगको आवश्यकता भएका समेत बताए । ‘लडेर ल्याएको लोकतन्त्रको रक्षा गरेर छोटो अवधिमा देशलाई सुशासन र समृद्धिको दिशामा लिएर जानु यो गठबन्धनको उद्देश्य हो,’ भट्टराईले भने, ‘त्यसकारण यो गठबन्धनको युगको एउटा आवश्यकता हो ।’











