
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दीयौंदेखि चल्दै आएको तिहार विशिष्ट मौलिक पर्व भएको बताएका छन् ।
मौलिक सांस्कृतिक पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने प्रधानमन्त्री देउवाको भनाइ छ । दिपावलीले दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई समेत प्रगाढ बनाउन मद्दत पुर्याउँदै आएको उनले बताए ।
प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महान् चाड तिहार–२०७९, नेपाल संवत् ११४३ को आरम्भ, म्हः पूजा तथा किजा पूजाको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका हुन् ।
तिहारको अवसरमा खेलिने देउसी भैलोलगायतका सांस्कृतिक नाचगानले हाम्रो समाजमा शान्ति, सद्भाव, एकता र भाइचाराको भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएका छन् । नेवार समुदायमा यसै अवसरमा साँझमा म्हः पूजा गर्ने परम्परा छ ।
प्रधानमन्त्री देउवाले कोभिड–१९ को संक्रमण कायमै रहेको र डेङ्गी रोगको प्रकोपको जोखिम रहिरहेकाले स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्डसमेत पालना गर्दै सजगता र सतर्कतासहित दीपावली पर्व मनाउन सबैलाई अनुरोध गरेका छन् ।











