Logo
Logo

नेकपा सरकारले संसद्लाई ‘रबर स्ट्याम्प’ बनायो- कांग्रेस


504
Shares

काठमाडौं । तत्कालीन नेकपा नेतृत्वको सरकारले संसद्लाई ‘रबर स्ट्याम्प’ बनाएको नेपाली कांग्रेसले आरोप लगाएको छ । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले जारी गरेको घोषणापत्रमा तत्कालीन नेकपा सरकारले संसद्लाई ‘रबर स्ट्याम्प’ बनाएको उल्लेख छ ।

नेकपा सरकार संसद् र जनताप्रति उत्तरदायी र जवाफदेही नभई कम्युनिस्ट शासनमा जस्तो सम्पूर्ण अधिकार केन्द्रिकृत गरी सर्वसत्तावाद र अधिनायकवाद संस्थागत गर्ने दुष्प्रयास गरेको समेत घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा भनिएको छ– ‘नेकपाको नेतृत्वमा सरकार बनेको घडीदेखि नै सुनियोजित रूपमा सार्वभौम संसद्लाई सरकारको ‘रबर स्ट्याम्प’ बनाउने दुस्साहस गरियो । लोकतान्त्रिक प्रणालीमा जस्तो संसद र जनताप्रति उत्तरदायी र जवाफदेही होइन, कम्युनिस्ट शासनमा जस्तो सम्पूर्ण अधिकार केन्द्रिकृत गरी सर्वसत्तावाद र अधिनायकवाद संस्थागत गर्ने दुष्प्रयास गरियो ।’

प्रतिनिधिसभा विघटन गर्दै संविधान असफल बनाउने षड्यन्त्र भएको तर त्यो असफल तुल्याइएको घोषणापत्रमा उल्लेख छ ।

‘नेपाली कांग्रेसको ऐतिहासिक भूमिका र संघर्षको कारणले नै दुई–दुई पटकसम्म विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापित भई पाँच वर्षको कार्यकाल पूरा भयो । ‘२०७७ पुस ५ गते संविधानविपरीत अप्रत्याशित रूपमा प्रतिनिधिसभा विघटन गरियो । त्यसैले २०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेको थियो ।’

प्रतिनिधिसभा विघटनको चर्को निन्दा गरेको कांग्रेसले घोषणापत्रमै संसद् विघटन नगर्ने प्रतिज्ञा जनाएको छ । ‘आगामी प्रतिनिधिसभाको पाँच वर्षको कार्यकाल पनि पूरा गरी राजनीतिक स्थायित्व कायम गर्न नेपाली कांग्रेस पूर्ण प्रतिबद्ध छ’, घोषणापत्रमा भनिएको छ ।

कार्यपालिका अन्तर्गतका निकाय र अधिकार मात्रै नभएर सार्वभौम संसद् र स्वतन्त्र न्यायालयलाई समेत तत्कालीन नेकपा सरकारको प्रभाव र नियन्त्रणमा राख्ने षड्यन्त्र गरेको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्