
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सिमानामा भारतीय पक्षले ज्यादती गर्दा ‘परराष्ट्र मन्त्रालय किन मौन ?’ भन्दै सरकारसँग प्रश्न गरेका छन् ।
सिमाना क्षेत्रमा भारतीय पक्षले सडक निर्माण गर्ने क्रममा विस्फोट गर्दा खसेको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिकाका बालक पवन महराको मृत्युको घटनामा परराष्ट्र मन्त्रालयले केही नबोलेको भन्दै रावलले यस्तो प्रश्न गरेका हुन् ।
रावलले सामाजिक सञ्जालमा लेखेका छन्– ‘दार्चुलाका जयसिंह धामीलाई भारतीयले तुइन खुस्काइ महाकालीमा बगाएको १ वर्ष बित्दा नबित्दै सडक निर्माणमा गरेको विस्फोटको ढुंगा लागी ९ वर्षीय पवन महराको दुःखद् निधन भएको छ । १४ वर्षीया सरीना महरा घाइते भएकी छन् । सिमानामा यस्तो ज्यादती हुँदा परराष्ट्र मन्त्रालय किन मौन ? घाँटी कसले अँठ्यायो ?’
महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक महराको मृत्यु भएको थियो ।
दार्चुलामा भएको घटनाबारे अहिलेसम्म परराष्ट्र मन्त्रालयले आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।











