काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार माओवादी केन्द्रकी नेता पम्फा भुसाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ । भैंसेपाटीस्थित गौतम निवासमा पुगेर भुसालले उनलाई भेटेका हुन् ।

एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गौतम पछिल्लो समय राजनीतिक सक्रिय छैनन् । एमाले विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादीमा नगई वाम एकताको पक्षमा लागेको बताउने गौतम देश चुनावमय हुँदा निस्क्रिय देखिन्छन् ।
उनै गौतमलाई भेटेर भुसालले आफूलाई मत दिन र चुनावमा सघाउन आग्रह गरेका हुन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी भुसालले २०६४ र २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । तर, २०७० सालको निर्वाचन भने उनी सम्मिलित पार्टीले बहिष्कार गरेको थियो ।












