
खोटाङ । ‘मत भनेको दान गर्ने हो,’ हलेसी तुवाचुङ नगरपालिका खोटाङका प्रभावशाली नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘टोपीसँग मत साट्नुभयो भने गलत उम्मेदवार निर्वाचित हुन्छन् । गलत उम्मेदवार निर्वाचित हुँदा दुःख पाउने त मतदाताले नै हो नि ।’
टोपीलाई शिरको शोभा मानिन्छ । ‘सस्तोमस्तो टोपी बाँडेर भोट माग्नु भनेको मतदाताकै अपमान हो,’ हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका एक युवा नेताले मतदातालाई सचेत गराए, ‘मतदाताले मतदान गर्नअघि १० पटक सोच्नुपर्छ । आफू अपमानित भएर गलत उम्मेदवारलाई सम्मानित गर्न हुँदैन ।’
जुनसुकै निर्वाचनमा मतदाता निर्मम हुनुपर्छ । प्वाँखजस्तै हल्का हुनुहुँदैन । चट्टानजस्तो गह्रुँगो हुनुपर्छ । नत्र टोपीसँग मत साटिन के बेर ? ‘उम्मेदवारले टोपीसँग मत साट्न खोज्नु अनौठो होइन,’ मंगलटारकै अर्का नेताले थपे, ‘टोपी लगाइदिनेले लगाइदिए, बाहिरिनेले पहिरिए । उनीहरूको के दोष ? तर, उनीहरूले मतदान गर्दा बुद्धिको बिर्को खोल्नुपर्छ ।’
आसन्न निर्वाचनका लागि खोटाङको प्रदेश ‘क’बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका पाँचकर्ण राई ‘पीके’ले हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको घुर्चुमा लालबहादुर राई, सिंगमान राई र खटनबहादुर राईलाई टोपी लगाइदिँदै भोट मागेपछि उल्लिखित अभिव्यक्ति सतहमा आएका हुन् ।
चुनावी अभियानअन्तर्गत सुटुक्क घरदैलोमा निस्केका राईले घुर्चुवासी लालबहादुर राई, सिंगमान राई र खटनबहादुर राईलगायतलाई टोपी दिँदै भोट माग्नु लाजको पसारो भएको टिप्पणी गर्नेको कमी छैन । ‘रित्तो भाँडाले धेरै आवाज निकाल्छ । टोपी नै बाँडेर भोट मागेपछि पूर्वमाननीय पीके राई रित्तो भाँडाजस्तै लाग्यो,’ मंगलटारकै विद्यार्थी नेताले व्यंग्य गरे, ‘रित्तो भाँडाजस्तो उम्मेदवारले टोपीसँग भोट साट्न खोजेर जात जनाइहाले । तपाईंका गाउँठाउँमा रित्तो भाँडाजस्ता उम्मेदवार पसे रित्तो भाँडै ठट्टाएर तर्साउनुपर्छ ।’
पीके राईले टोपीसँग भोट मागेपछि स्थानीय मतदाता रिसाएका छन् । नेता राईलाई संकेत गर्दै अभियोग लगाइयो, ‘निर्वाचनलाई राष्ट्रिय उत्सवका रूपमा लिन नसक्नेले नेता कहिल्यै बन्न सक्दैनन् । टोपी बाँडेर भोट माग्नेले राजनीति छाडे हुन्छ ।’
नेपाल विद्यार्थी संघ खोटाङ सदस्य नेत्रविक्रम राउतले भने, ‘नेकपा एमालेले टोपी अभियान सुरु गरेछ । सबैको टाउका हामीले बनाइदिएको भन्न उहाँहरूले भ्याउनुहुनेछ ।’
घुर्चुका ज्येष्ठ नागरिकलाई टोपी बाँड्दै पीके राईले भोट मागेको फोटो एमालेसम्बद्ध कार्यकर्ताले सामाजिक सञ्जाल फेसबुकमा ‘अपलोड’ गरेका थिए । फोटो ‘अपलोड’ गरिएलगत्तै फेसबुकमा नेता राईको उछित्तो काढिएको थियो । उनको उछित्तो काढिएपछि फोटो ‘पोस्ट’ गर्ने सबैले ‘डिलिट’ गरेका थिए ।
भनिन्छ, ‘त्यतिसम्म निहिरिनु, जति निहुरिँदा शिरको टोपी भुइँमा नखसोस्,’ खोटाङका प्रभावशाली नेताले सुनाए, ‘पीके दाजु त आफ्नै शिरको टोपी भुइँमा खस्नेगरी निहुरिएको पो देखिए ।’
संवत् २०३८–०३९ देखि अनेरास्ववियुबाट सक्रिय राजनीति थालेका पीके राई सरकारी जागिरे भएपछि राजनीतिबाट केही समय टाढिए । सरकारी जागिर छाडेर ०४८ देखि पुनः सक्रिय राजनीति थाले । लगत्तै काठमाडौं महानगरपालिका–९ को उम्मेदवार बनेका उनी झिनो मतले पराजित भए ।
पीकै राईले टोपी बाढ्दै भोट मागेपछि जिल्ला निर्वाचन कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ । मतदातालाई आर्थिक वा अन्य कुनै पनि प्रकारको प्रलोभनमा पार्नु निर्वाचन आचारसंहिता विपरीत हुन्छ ।
जिल्लास्थित निर्वाचन कार्यालयले यस विषयमा ध्यानाकर्षणए भएको जनाएको छ । उनलाई आचारसंहिता उलङ्घनमा स्पष्टीकरण सोध्ने तयारी गरिएको निर्वाचन कार्यायले जानकारी दिएको छ ।











