Logo

बझाङका बाढीपिडित भन्छन्- वर्षदिन बित्यो राहत आएन



बझाङ । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खातीलाई गाउँमा आउने हरेक मान्छे राहतको आश्वासन दिन आएको जस्तो लाग्छ ।

सडकमै घर भएकाले मानिस ओहोरदोहोर गरिरहन्छन् । गतवर्षको बाढीपिडित उनलाई सबैले केही नै केही आश्वासन दिन्छन् । कसैले पालिकासँगको समन्वयमा राहत दिने भने त कसैले प्रदेशसँगको समन्वयमा राहत दिने भने ।

तर महिना बित्यो, वर्ष बित्यो राहत आएन । ‘बाढी आएको १ वर्षभन्दा बढी भइसक्यो । हामी राहतकै पर्खाइमा छौं,’ उनले भने, ‘आश्वासन दिने ३०–३५ जना आइसके । तर कसैले पनि सम्झिएनन् । ‘दाता’ भनाउँदाको बाटो हेर्दैमा बित्यो वर्ष दिन ।’ गत वर्ष कात्तिक २ गते आएको बाढीमा खातीगाउँवासीले सर्वश्व गुमाए ।

अर्काका छानोमा बसेका परिवारलाई तीन–चार जनाले केही खाद्यान्न पनि सहयोग गरे भने आफन्तले भाँडाकुँडा तथा लुगाकपडाको व्यवस्था गरे । बाँकी समय भने आफन्तको सहयोगमै गुजारा गरिरहेको उनले बताए । बाढीपछि समाजसेवी धिरा खत्रीले १० हजार, कलक खत्रीको टिमले ५ हजार र अन्य केही व्यक्तिले अन्न सहयोग गरेका थिए ।

पिडित ज्ञानदेवी खाती भन्छिन्, ‘बाढी आएको साढे १३ महिना भयो । अझै भोक मेटाइको पर्खाइमै छौं । तिहार–सिहार त हाम्रो लागि परको कुरा ।’ उनले भोको पेटले आश्वासन थेग्न नसक्ने उनको भनाइ छ । ठूलो परिवार त्यसैमा बालबालिका बढी भएको हुँदा मजदुरी गर्न सहर पनि जान नसकेको उनले बताइन् ।

खोलाले बगाउन बचेको जमिनमा दुई केजी जति कोदो फलेको देखाउँदै प्रेमबहादुर भन्छन्, ‘घरमा छ जना छौं । आफू बूढो भइसकें । छोराको त्यस्तो हालत छ (प्यारालाइसिसको बिरामी) । नाति–नातिना सानै छन् ।’ खातीगाउँमा सर्वश्व गुमाएका प्रेमबहादुर र ज्ञानदेवीको परिवार हुन् । अन्य परिवारको पनि घरबाहेक केही छैन ।

‘अहिलेसम्म घरको सास त जोगिएकै छ’, धन्धुरी खाती भन्छन, ‘अहिले बस्नलाई घर त छ । तर खानलाई केही छैन । गत वर्ष बचेको खायौँ, यसपटक सबै घर अन्नविहीन छन् ।’ बाढी आएको साढे १३ महिनासम्म खातीगाउँवासीले स्थानीय सरकार भएको महसुससमेत गरेका छैनन् । ‘राहतका लागि गाउँपालिका गयौँ । पालिकाले उल्टै पीडा थप्ने झटारो हानेर पठायो’, धन्धरीले भने, ‘राहतका लागि जाँदा अघिल्लो अध्यक्ष वर्कबहादुर रोकायाले खोला नजिक घर किन बनाएको भन्दै झपारेर पठाए ।’

केही दाताले सहयोग गरे पनि गाउँपालिकाले भने राहतको नाममा खुर्सानीसमेत नदिएको उनले बताए । ‘अहिलेका अध्यक्षले आश्वासन दिएको पनि सात महिना भइसक्यो । सहयोगको नाममा शून्य छ । चुनावको बेलामा कापीमा टिप्नुभएको त थियो । खै कता बिर्सनुभयो ?’ उनले भने । अहिले खातिगाउँबासी राहतभन्दा पनि झरी पर्ने बित्तिकै आत्तिन्छन् ।

बाढीले पुर्याएको क्षति खातीगाउँ मात्रै नभई सबै वडाका खोला किनाराको बस्तीमा छ । गडरायदेखि तमैल बजारको भू–भागसम्म बाढीले करोडौँ मूल्य बराबरको क्षति पुर्याएको छ ।

खप्तडछान्ना गाउँपालिका–५ का विष्ट परिवार पनि अहिले खापरदेव क्याम्पसको भवनमा आश्रय लिइरहेका छन् । गत वर्ष कात्तिकमा आएको अविरल बाढीका कारण घरको जगदेखि नै पहिरो आउँदा भागदौड मच्चिएको थियो । स्थानीय सरकारले चासो नै नदिएपछि उनीहरू अहिले क्याम्पसको भवनमा बस्दै आएका छन् ।

वडा नं १ को मुसुराडीमा पनि बाढीपीडित राहतकै पर्खाइमा बसेका छन् । बाढी आएको बेलामा ज्यान जोगाउन भागेका दलित समुदाय अहिले पानी पर्दासमेत निदाउन सक्दैनन् । वडा नं १ का वडाध्यक्ष देवीभक्त जोशी भने आफूसँग बजेट नहुँदा केही गर्न नसकेको बताउँछन् । खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकायाले पनि बजेटको अभावले केही गर्न नसकेको सुनाए ।

‘खातीगाउँवासीको मात्रै होइन, छान्नामा धेरै नै बाढीपीडित छन् । उहाँहरूका लागि हामीले सोचेका छौँ । बजेटको अभावले समस्या भएको हो । यसपटक समस्या समाधान हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्