
१. आगामी निर्वाचन लक्षित नेकपा एमालले सार्वजनिक गर्यो घोषणापत्र, घोषणापत्रमा एक गन्तव्य, एक राष्ट्रिय आकाङ्क्षा, चार सङ्कल्प, पाँच वर्ष, २० ग्यारेन्टी, ३० कामका क्षेत्र, २४७ प्राथमिकता, ४१ महिना र ८२ वटा माइलस्टोन उल्लेख, पाँच वर्षभित्र एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन पुर्याउने दाबी, नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर दुई हजार चार सय बराबर पुर्याउने लक्ष्य ।

२. आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको दाबी, संविधान रक्षा, स्थायी सरकार र राष्ट्रिय विकासका लागि पाँच दलीय गठबन्धन अवधारणा अघि सारिएका अभिव्यक्ति, केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरुले विद्रोह गरेको भनाइ ।

३. आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन आयोगले एकैदिन सोध्यो नौ वटा स्पष्टीकरण, लाभको पदमा रहेका, निर्वाचनका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारीसमेतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन बेल्लाबेग्लै पत्र, आयोगमा १५० उजुरी ।

४. प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक कुल दुई लाख ४६ हजार जनशक्तिको प्रबन्ध, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पदमा आवश्यकतानुसार कर्मचारी नियुक्त ।

५. ललितपुर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा काकीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश, न्यायाधीश कुमार चुडालको एकल इजलासले काकीको उम्मेदवारी खारेज नगर्न निर्वाचन आयोगका नाममा आदेश जारी, सर्वोच्चको उक्त आदेशसँगै डा. कार्कीको उम्मेदवारी कायम ।

६.प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि सबै जिल्लामा पहिलो चरणको निर्वाचन सामग्री ढुवानी सकियो, डोल्पा, मुगु, जुम्ला, हुम्ला, बाजुरा, गोरखा, मनाङ र सिन्धुली जिल्लालाई आवश्यक पर्ने सम्पूर्ण सामग्री ढुवानी, बाँकी जिल्लामा थप सामग्री दोस्रो चरणमा लगिने ।

७. रुपन्देही– २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी खारेज, सरकारी छात्रवृत्तिमा एम.डी. अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि निर्वाचन आयोगको उम्मेदवारी खारेज गर्ने निर्णय सर्वाच्च अदालतद्वारा सदर ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि, नेप्से परिसूचक ५६ दशमलव १० अङ्कले उकालो लागेर एक हजार नौ सय ३० दशमलव ९७ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स ११ दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ८२ दशमलव १४ मा कायम, दुई सय ३१ कम्पनीको ३९ लाख ७१ हजार पाँच सय ९४ कित्ता शेयर एक अर्ब २९ करोड छ लाख ६४ हजार ६ सय ४२ रुपैयाँमा कारोबार ।

९. अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा मैत्रीपूर्ण खेलका लागि नयाँ मुख्य प्रशिक्षक नियुक्त, पाकिस्तानविरुद्ध कात्तिक ३० गते हुने मैत्रीपूर्ण खेलका लागि सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन टोली मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल बने मुख्य प्रशिक्षक, पाकिस्तानविरुद्धको खेलका लागि नेपाली टोलीको छैन तयारी ।

१०. रूसी अन्न र मल निर्यातका अवरोध हटाउन चीनको आग्रह, संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङद्वारा सुरक्षा परिषद्मा बैठकमा सम्बन्धित देशलाई रूसी अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन ठोस कदम चाल्न आह्वान, आर्थिक एवम् व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुने भनाइ ।















