Logo
Logo

फरार सुन तस्करलाई प्रधानमन्त्रीकै टिमबाट संरक्षण


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० भदौ ।
३८ सय केजी सुन तस्करी प्रकरणमा फरार रहेका एक व्यापारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै टिमबाट संरक्षण रहेको खुलेको छ । चुणामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्करीमा लगानी गर्ने बाजेको सेकुवा रेस्टुरेन्टका मालिक चेतन भण्डारीलाई प्रधानमन्त्रीका आईटी विज्ञ असगर अलीले संरक्षण दिदै आएका हुन् ।


जून कुराको पुष्टि मंगलबारको उनको फेसबुक पोष्टबाट भएको छ । प्रधानमन्त्रीले सिंगापुरबाट गरेको भिडियो कन्फरेन्सको सुरक्षाको बारेमा उनले फेसबुकमार्फत प्रष्टिकरण दिएका छन् । जून पोष्टमा उनले चार जनालाई ट्याग गरेका छन् जसमध्ये एक सुन तस्करी प्रकरणमा फरार रहेका भण्डारी छन् । जसबाट भण्डारी र उनीबीचको घनिष्टता प्रष्ट हुन्छ ।
गत वर्ष प्रहरीले छानबिन थालेलगत्तै भण्डारी फरार भएका थिए । उनीविरुद्ध रेड कर्नर नोटिस समेत जारी भएको छ । तर, पनि प्रहरीले पक्राउ गर्न चासो दिएको छैन । यसको पछाडी प्रधानमन्त्री कार्यालयबाटै दबाब गएको प्रष्ट हुन्छ ।


स्रोतका अनुसार असगर र भण्डारी पहिलेदेखि नै निकटस्थ व्यक्ति हुन् । त्यहीकारण भण्डारीलाई जोगाउन उनी लागिपरेका छन् ।
एक निजी आईटी कम्पनीका शेयरधनी रहेका असगर प्रधानमन्त्रीको आईटी बिज्ञमा नियुक्त भएपछि धेरै जसो आईटीका ठेक्कामा उनले चलखेल गरेर आफू निकट कम्पनीहरुालाई दिंदै आएका छन् । जसकारण उनी पटक पटक विवादमा पर्दै आएका छन् । अझ संगठित रुपमा सुन तस्करीमा संलग्न गिरोहसँग समेत उनको कनेक्सन देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्