Logo
Logo

इन्डोनेसियामा बसेर अष्ट्रेलियामा छु भन्दै नाटक गर्ने अस्मिरा प्रहरी फन्दामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ भदौ ।
घुमघामका लागि नेपालीको नयाँ गन्तव्य इन्डोनेसिया मानव तस्करी गिरोहको समेत ट्रान्जिट बन्न थालेको छ । अस्ट्रेलिया र्पुयाउने प्रलोभनमा इन्डोनेसिया लगेर बन्धक बनाउने र लुट्ने प्रवृत्ति देखिएको प्रहरीले जनाएको छ ।

इन्डोनेसिया बसेर यसरी मानव तस्करी र ठगी धन्दा चलाउने एक जोडीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतका शिव शर्मा र काभ्रे घर भएकी उनकी प्रेमिका अस्मिरा चौलागाईंसहितलाई पक्राउ गरी अनुसन्धान थालिएको मानव बेचबिखन नियन्त्रण ब्युरोले जनाएको छ । अनुसन्धानका क्रममा विगतमा अमेरिकाजस्तै अहिले अस्ट्रेलिया पठाइदिने भन्दै मानव तस्करी गर्ने नयाँ शैली देखिएको ब्युरोका एसपी गोविन्द थपलियाले बताए ।

ब्युरोले भारतीय नागरिक पुरुषोत्तम लाल तथा दोलखाका शशीकुमार तामाङ, म्याग्दीका डोलेन्द्र कार्की र काभ्रेका अर्जुन कार्कीलाई समेत पक्राउ गरेको हो । गिरोहका मुख्य नाइके पर्वतका शर्मा र भारतीय नागरिक लाल भएको प्रहरीले जनाएको छ । लाल इन्डोनेसियन युवतीसँग बिहे गरेर उतै बस्दै आएका थिए । उनकै सहयोगमा शर्मा र उनकी प्रेमिका चौलागाईंले इन्डोनेसियामा बसेर मानव तस्करी र ठगी धन्दा चलाउँदै आएका थिए ।

थप नेपाली लिन नेपाल आएका वेला लाललाई ३ भदौमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको एसपी थपलियाले बताए । शर्मा र चौलागाईंलाई इन्डोनेसियाबाट ‘डिपोर्ट’ गरी नेपाल ल्याइएको हो । अन्य पीडितसँगै उनीहरू नेपाल आएका थिए ।

प्रेमिकाको प्रयोग
मानव तस्करीमा प्रभाव पार्न शर्माले आफ्नै प्रेमिका प्रयोग गरेका थिए । पक्राउ परेकी अस्मिरा चौलागाईंले आफू ‘विजय दाइमार्फत नै अस्ट्रेलियाको पर्थमा आएको र विश्वास गरेर आउँदा हुने’ भन्दै फोनमा कुरा गर्थिन् । इन्डोनेसिया बसेर उनले आफू अस्ट्रेलियामा रहेको भनेर भ्रममा पार्थिन् ।

प्रहरीका अनुसार शर्माले सुरुमा इन्डोनेसियामै रहेका अर्का एक भारतीयसँग मिलेर मानव तस्करीको प्रयास गरेका थिए । तर, ती भारतीय भारत फर्केपछि लालको गिरोहसँग उनी जोडिएका हुन् । लालले मानव तस्करी र बन्धक बाउने प्रयोजनकै लागि तीनवटा फ्लाट भाडामा लिएको खुलेको छ ।

अनअराइभल भिसाले इन्डोनेसिया ट्रान्जिट
नेपालीको पर्यटकीय गन्तव्य बनेको इन्डोनेसियाले नेपाललाई ‘अनअराइभल भिसा’ दिँदै आएको छ । अर्थात् अग्रिम भिसा लिनुनपर्ने भएकाले मानव तस्करहरूका लागि इन्डोनेसिया सहज गन्तव्य हुन थालेको छ । अस्ट्रेलियाको सपनामा इन्डोनेसिया पुगेका धेरै नेपाली ठगिएर फर्किएको ब्युरोका एसपी अनुपमशमशेर राणा बताउँछन् ।
थाइल्यान्डलगायत देशले पनि नेपालीलाई सहजै भिजिट भिसा दिने भएकाले ती देशलाई ट्रान्जिट बनाएर मानव तस्करी गर्ने प्रवृत्ति विगतमा देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्