Logo
Logo

तीन दशक प्रतिनिधित्व गरेको आफ्नै क्षेत्रमा झलनाथको परीक्षा, कति सुरक्षित ?


1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल इलाम-१ बाट उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका साझा उमेदवार हुन् ।

०४८ सालपश्चात् खनालले निरन्तर यो क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आइरहेका छन् । ०५६ बाहेक कुनै पनि निर्वाचनमा उनले पराजय भोग्नुपरेको छैन । यही क्षेत्रबाट जितेर उनी प्रधानमन्त्री समेत बने । तर, खनालको विगत र वर्तमान राजनीतिक अवस्था फेरिएको छ ।

पाँच दलीय गठबन्धन भएको कारण अन्य दलको मतबाट जित्नेमा उनी विश्वस्त छन् । मंसिर ४ मा हुने प्रत्यक्ष निर्वाचनमा ‘प्रभावशाली’ नेता खनाललाई अहिलेसम्मका चुनावका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको साथ छ । तर आफैंलाई ६ पटकसम्म चुनाव जिताएर सांसद, पटकपटक मन्त्री र प्रधानमन्त्रीसमेत बनाएको नेकपा एमाले भने अहिले खनालको मुख्य प्रतिस्पर्धी छ ।

सातौं पटक संसदीय चुनावी मैदानमा निस्किएका खनालसँग एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले प्रतिस्पर्धा गर्दैछन् । खनाल विरुद्धको प्रतिस्पर्धा बस्नेतका लागि सहज भने हुनेछैन् । अहिलेसम्म खनाललाई सूर्य चिह्नमा मतदान गरेर जिताएका मतदाताले अब कलम चिह्नमा भोट हाल्नुपर्नेछ ।

३१ वर्षयता निरन्तर सूर्य चिह्नमा भोट मागेर जितेका खनाललाई अबको चुनावमा भने हिजोसम्म रूखमा र हँसिया हथौडामा भोट हाल्नेहरूको भोटसमेत आफूतिरै तान्नुपर्ने चुनौती छ । तीन दशक आफैंले प्रतिनिधित्व गरेको क्षेत्रमा खनालको पुनः परीक्षा हुँदैछ ।

कस्तो छ अवस्था ?

खनालका लागि मंसिरमा हुने निर्वाचन चुनौती र अवसर दुवै हुनेछ । उनलाई आफ्नो दल नेकपा एसको मात्रै मत जितका लागि पर्याप्त देखिँदैन । सत्ता गठबन्धनको भागबन्डामा खनाल निर्वाचनपछि देशको राष्ट्रपति बन्ने चर्चा इलाममा हुने गरेको छ ।

खनालको निर्वाचन क्षेत्रमा पर्ने मुख्य पालिका सूर्योदय नगरपालिकामा गत वैशाख ३० को स्थानीय निर्वाचनमा नेकपा एसका उम्मेदवारले ल्याएको एकल मत हिसाब गर्दा ९ हजारको हाराहारीमा देखिन्छ । तर यो निर्वाचन क्षेत्रमा १ लाख ९ हजार ५ सय ३५ मतदाता छन् ।

यही क्षेत्रका अन्य पालिकामा भने खनालको दल नेकपा एस कमजोर छ । त्यहाँको मत खनालका लागि केहि थपथापमात्रै हुने देखिन्छ । जितका लागि उनलाई कांग्रेस र माओवादी केन्द्रको साथ आवश्यक देखिन्छ । अघिल्लो २०७४ मा भएको निर्वाचानमा खनाल यही क्षेत्रबाट एमाले र माओवादी केन्द्रसहितको साझा उम्मेदवार थिए ।

त्यसबेला खनालका निकटतम प्रतिस्पर्धी कांग्रेसका भूपेन्द्र कट्टेललाई १७ हजा२६७ मतान्तरले पछाडि पारेर विजयी बनेका थिए । खनालले ३६ हजार ८०५ मत पाएका थिए भने कट्टेलले १९ हजार ६३८ मत पाएका थिए । सूर्योदय नगरपालिका, माईजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका, माई नगरपालिकाका वडा १, २, ३, ४, ५, ६ र १० तथा इलाम नगरपालिकाको वडा १० निर्वाचन क्षेत्र १ मा पर्छन्।

खनालका लागि अहिले सबैभन्दा सहज सूर्योदय नगरपालिका मानिएको छ । गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा गठबन्धनका तर्फबाट नेकपा एसका रणबहादुर राई सूर्योदयको मेयरमा निर्वाचित भएका थिए । स्थानीय निर्वाचनमा नेकपा एसले एकल प्रतिस्पर्धा गरेर सूर्योदयका ५ वटा वडा ९४, ६, ९, १० र १२० को अध्यक्षसमेत जित्न सफल भएको थियो ।

राई १२ हजार ४३१ मत ल्याएर मेयरमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका काजीमान कागतेले १० हजार ५७९ मत पाएका थिए । कांग्रेसले सूर्योदयका वडा १, ३, ५, ७, ११ र १४ तथा एमालेले वडा २ र १३ जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्