Logo
Logo

संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्छन् : प्रचण्ड


693
Shares

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मंसिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन् ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा दुई गठबन्धन चुनावी मैदानमा रहेको भन्दै संविधानको रक्षा गर्ने वाम–लोकतान्त्रिकको पक्षमा जनताले मत दिने विश्वास व्यक्त गरे ।

‘एउटा गठबन्धन केपी ओलीले नेतृत्व गर्नुभएको छ, जहाँ संविधान विरोधी, गणतन्त्र विरोधी शक्तिहरू मिलेर बनेको छ’, उनले भने, ‘अर्को गठबन्धन मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा छ जसले संविधानको रक्षा गर्दै आएको छ, अबको चुनावमा जनताले संविधानको विरोधीलाई परास्त गर्नुपर्छ ।’

उनले बुढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गर्नेतर्फ आफ्नो ध्यान मुख्य रुपमा केन्द्रित भएको बताए । ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजना छिटोभन्दा छिटो सम्पन गर्नुपर्छ भन्नेमा म प्रतिबद्ध छु’, उनले भने, ‘त्यसका लागि आवश्यक पहल गर्नेछु ।’

उनले आफू कुनै निश्चित क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि यहाँ आएको बताए । ‘प्राविधिक कारणले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेको छु’, उनले भने, ‘तर म कुनै विशेष क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि गोरखा आएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्