लमजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, विकास र समृद्धि गठबन्धनको मुख्य एजेण्डा रहेको बताएका छन् ।

लोकतान्त्रिक वाम–गठबन्धन लमजुङद्वारा आज राइनास नगरपालिका–४ सातविसेकमा आयोजित चुनावीसभामा उनले विकास निर्माण र समृद्धिमा गठबन्धन लाग्ने बताए ।
‘गठबन्धनका पक्षमा देशव्यापी लहर आएको छ, यसले गठबन्धनका अधिकांश उम्मेदवार विजयी हुने विश्वास लिएको छु’, उनले भने, ‘गठबन्धनको जीत सुनिश्चित छ ।’
शान्ति प्रक्रिया टुङ्ग्याउने, जनताको अधिकारलाई बलियो बनाउने र देशलाई पछाडि धकल्ने, निरुङ्कुशतातिर र अँध्यारोतिर लैजान खोज्ने दुई गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भइरहेको उनले बताए । मंसिर ४ मा हुने निर्वाचनले जनता कुन पक्षमा छन् भन्ने स्पष्ट हुने उनको भनाइ छ ।
‘यो युगान्तकारी परिवर्तन, राष्ट्र, बचाउने, शान्ति कायम गर्नमा नेपाली कांग्रेस र माओवादीका नेता तथा कार्यकर्ताको भूमिका छ’, उनले भने, ‘यसका लागि कैयनको ज्यान गएको छ, म उहाँहरुलाई सम्मान गर्न चाहन्छु ।’
मुलुकमा अझै पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको भन्दै उहाँले अब बन्ने गठबन्धनको सरकारले उक्त जिम्मेवारी पूरा गर्ने उनको दाबी छ ।
उनले गोरखा, तनहुँ लमजुङकै वरिपरिका गठबन्धनका उम्मेदवारले नै सरकरको नेतृत्व गर्ने सम्भावना रहेको जिकिर गर्दै गठबन्धनका उम्मेदवार विजयी हुनुपर्ने बताए ।
उनले चेपे, दोर्दी, मस्र्याङ्दी, मदिम र माडि करिडोरले लमजुङका जनताको आयस्तरमा ठूलो वृद्धि गर्ने बताए । त्यस्तै, डुम्रे बेँसीसहर हुँदै मनाङ जाने सडक र मध्यपहाडी लोकमार्ग समयमै कालोपत्र गर्न पहल गर्ने उनले आश्वासन दिए ।












