काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण मागेको छ ।

सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण सर्वोच्च प्रशासनसँग मागेको हो ।
कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरणले दिएको निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चले उक्त रिट दरपीठ गर्नुको कारण आफ्नै प्रशासनसँग माग गरेको हो ।
०७६ माघ १ गते काठमाडौंमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा बुढाथोकी र आरणसले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट निवेद दिएका थिए ।
तर, कात्तिक २४ गते सर्वोच्चले उक्त निवेदन दरपीठ गरेको थियो । निवेदन नै दरपीठ भएपछि उनीहरुले पुनः दरपीठको कारण माग गर्दै अर्को निवेदन दिएका थिए । सोही निवेदनउपर सोमबार सुनुवाइ गर्दै सर्वोच्चले कारण मागेको हो ।












