Logo
Logo

निर्वाचनको संघारमा धमाधम राजीनामा दिँदै एमाले नेता 


15.9k
Shares

 काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति नजिकिँदै जाँदा नेकपा (एमाले)का नेताहरुले धमाधम राजीनामा दिन थालेका छन् । 

एमालेका एक केन्द्रीय सदस्यले राजीनामा दिएको एक साता नबित्दै अर्का केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । एक साताअघि केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला सहइन्चार्ज रिता साहले राजीनामा दिएका थिए । आज फेरि केन्द्रीय सदस्य एवं सिरहा जिल्लाका सहइन्चार्ज रामप्रित रामले राजीनामा दिएका छन् । 

पार्टीले केन्द्रीय कमिटीको निर्णयविपरीत घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राजावादीहरूसँग गठबन्धन गरेको भन्दै सिरहाको गोलबजारमा पत्रकार सम्मेलन गरी पार्टी सदस्यतासमेत नरहने गरी एमाले परित्याग गरेको घोषणा रामले गरेका छन् । 

केही नेताहरूको व्यक्तिगत स्वार्थ पूर्ति गर्न पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णयविरुद्ध पार्टी नाकाबन्दी गर्ने र दक्षिणपन्थी दलसँगको गठबन्धन जनता र देशविरोधी रहेको रामको आरोप छ ।

‘नाकाबन्दीको विरोध गरेर खोक्रो राष्ट्रवादी छवि बनाएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको नाइके उपेन्द्र यादवसंग गठबन्धन गरेर देश र जनतालाई धोका दिने कार्य गरेको छ । अर्को तर्फ देशमा राजसंस्था पुनःस्थापना गर्न संघीयता खारेज र सनातन हिन्दु राष्ट्र स्थापना गर्ने जस्ता जनविरोधी र पश्चगमनकारी एजेण्डाहरू प्रमुखताका साथ अगाडि बढाएको पार्टी राप्रपासँग एमालेले जनविरोधी र परिवर्तन गठबन्धन गरेको छ’ रामले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

उनले भनेका छन्- ‘समग्र पार्टीलाई पार्टी नेतृत्व प्रमुख र त्यसका आसेपासेहरूले पार्टी सङ्गठनलाई सामूहिकतामा नभई पार्टी सङ्गठनलाई निजिकरणको रुपमा सञ्चालन गरेको तथ्य ४–५ दशकदेखि पार्टी सङ्गठनमा योगदान तथा त्याग गरेका कमरेडहरूलाई टिकटबाट वाञ्चित गर्नु तर कुख्यात पञ्चायतकालीन तस्कर र राजसंस्था पुनः स्थापनाका लागि गतिविधि गर्ने कमल थापालाई पार्टीले टिकट दिएर सूर्य छापबाट चुनाव लडाउनले पुष्टि गर्छ ।’ 

नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव समेत रहेका रामले एमालेले यथास्थितिवादी र प्रतिगामी तत्वहरूले गहिरो रुपमा साँठगाँठ गरेको आरोप समेत लगाएका छन् । 

केन्द्रीय सदस्यबाट साह र रामले राजीनामा दिनुभन्दा अघि बारा, पर्सासहितका जिल्लाबाट मधेस प्रदेश कमिटी, जिल्ला कमिटीसहित बिभिन्न केन्द्रीय निकायमा रहेका हजारौं नेता कार्यकर्ताले एमाले परित्याग गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्