Logo
Logo

मैदानमा १० पार्टीका १० अध्यक्ष- देउवा, ओली, प्रचण्ड र माधवबाहेक सबै ‘डेन्जर जोन’मा



काठमाडौं । मंसिर ४ नजिकियो । सोही दिन प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्न जनताले अभिमत प्रयोग गर्नेछन् ।

सबै राजनीतिक दल चुनावी मैदानमा छन् । अन्तिम प्रयासको रुपमा भोट मागिरहेका छन् । मतदान बाहेक निर्वाचन प्रयोजनका सम्पूर्ण कार्य पूरा भयो भन्दा हुन्छ ।

जनताले अभिमत प्रयोगबारे लगभग निधो गरिसके । त्यसैले अबको प्रतिक्षा– मतपरिणाम मात्र हो । आम चासो– कसको पक्षमा कति मत र को जित्ला वा को हार्ला ? मात्र हो ।

आम जनताले अधिक चासोको रुपमा हेरेका छन्, राजनीतिक दलका नेतृत्वलाई । त्यसमा पनि अध्यक्ष वा सभापतिहरुको परिणाम कस्तो आउँला भन्ने मुख्य चासो हो ।

मतदानको सम्मुख आइपुग्दा १० पार्टीका १० अध्यक्षको अवस्था कस्तो छ त ? भन्नेबारे यो सामग्री तयार पारिएको छ ।

शेरबहादुर देउवा– अपराजित यात्रामा निरन्तरता
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुरानै निर्वाचन क्षेत्र डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।

संसदीय यात्रामा निरन्तर डडेल्धुरे जनताको साथ पाउँदै आएका देउवा यसपटक पनि साथ पाउनेमा ढुक्क छन् । देउवा यसै क्षेत्रबाट निर्वाचित भएर पाँच पटक प्रधानमन्त्री भइसकेका छन् ।

देउवाका लागि यसपटकको जित अन्तिम र अर्थपूर्ण मानिन्छ । चर्चा अनुसार उनी पुनः प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसैले, उनलाई जसरी पनि निर्वाचन जित्नुपर्ने छ ।

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार देउवाका लागि प्रतिस्पर्धी बलिया देखिएनन् । देशभर मुख्य प्रतिस्पर्धी रहेको एमालेले सुरुमै हात उठायो । कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्दै मैदान छोड्यो ।

देउवाको क्षेत्रमा स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि मैदानमा छन् । लामो समयदेखि सार्वजनिक रुपमा देउवाको आलोचना गर्दै आएका सागर पनि बलिया उम्मेदवार होइनन् ।

डडेल्धुरामा देउवाले करिव आधा सताब्दीदेखि राज गर्दै आएका छन् । अहिलेसम्म देउवालाई रिप्लेस गर्ने राजनीतिज्ञ उदाएका छैनन् । त्यसैले यसपटक पनि देउवा नै निर्वाचित हुने सम्भावना अधिक छ । कांग्रेस त्यसै बलियो, त्यसमा पनि गठबन्धनको साथ मिलेको छ ।

केपी शर्मा ओली– सहज छैन, अप्ठ्यारो पनि होइन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । झापाको मतले पुनः प्रधानमन्त्री बन्ने ओलीको चाहना हो ।

ओलीको क्षेत्रमा २५ जना उम्मेदवार मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारी हुन् । सँगै, राजनीतिक विश्लेषकका रुपमा पहिचान बनाएका स्वतन्त्र उम्मेदवार युग पाठक पनि ओलीले सामना गर्नुपर्ने छ ।

ओलीले पनि बलियो प्रतिस्पर्धी पाएनन् । कांग्रेसले केन्द्रीय राजनीतिमा नामै नसुनिएका खगेन्द्रलाई उम्मेदवार बनाउनु नै ओलीको जित यात्रामा सहजता थपिनु हो । हुन त खगेन्द्र अघिल्लो निर्वाचनमा पनि प्रतिस्पर्धी नै थिए ।

ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीको भरपर्दो साथ पाएका छन् । गठबन्धनको मतले दमक नगरको मेयर जितेका राप्रपाका राम थापाहरु ओलीलाई भोट मागिरहेका छन् । दमकमा राप्रपाको पनि राम्रै मत छ । झापा त्यसै पनि एमालेका धेरै राम्रो मत भएको जिल्ला हो ।

पार्टीको मत राम्रो हुनु, कमजोर प्रतिस्पर्धी पाउनु र स्थानीय तह जितेको पार्टीले सहयोग गर्नु नै ओली जितको आधार बन्न सक्छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’– सहज जितको संघारमा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनी गोरखाबाट चुनाव जितेर पुनः एकपटक देश हाँक्न चाहन्छन् ।

गोरखा माओवादीको धेरै राम्रो मत भएको जिल्ला हो । बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ७ मध्ये ६ स्थानीय तह माओवादीले जितेको जिल्ला हो । यस आधारमा पनि प्रचण्ड ‘सेफ जोन’मा देखिन्छन् ।

प्रचण्डको निर्वाचन क्षेत्रमा पनि प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेले सुरुमै हात उठायो । प्रचण्डविरुद्ध एमालेले बलियो नेता उठाउन सकेन । आफूलाई स्वतन्त्र भन्दै होहल्ला गरेर हिँडेका युवा अब्दुस मियाँलाई प्रचण्डको प्रतिस्पर्धी बनाएर एमालेले सहज बनायो ।

गोरखाका जनताले सुन्नै नसुनेको, चिन्दै नचिनेको उम्मेदवार प्रतिस्पर्धी हुनुले नै प्रचण्डको जित सुनिश्चिततातर्फ अघि बढ्यो ।

गोरखा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको प्रभाव क्षेत्र हो । यी दुवै मैदान छोडेर प्रचण्डका लागि भोट मागिरहेका छन् । यो प्रचण्डको प्लस पोइन्ट बनेको छ ।

चितवन छोडेर गोरखा पुगेका प्रचण्ड गोरखाको मतले देश हाँक्ने तरखरमा छन् ।

माधवकुमार नेपाल– गृहजिल्लाबाट विद्रोह प्रमाणित गर्ने तयारी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृहजिल्ला रौतहट–१ बाट प्रतिनिधिसभा सदस्याका लागि चुनावी मैदानमा छन् ।

अघिल्लो निर्वाचनमा काठमाडौं–२ बाट निर्वाचित माधव यसपटक भने गृहजिल्ला पुगेका हुन् । रौतहट एकीकृत समाजवादीको धेरै राम्रो मत भएको जिल्ला हो । माधवको क्षेत्रमा पर्ने स्थानीय तह एकीकृत समाजवादीले नै जितेको थियो ।

माधवका लागि मुख्य प्रतिस्पर्धी बलियो होइनन् । मुख्य प्रतिस्पर्धी पार्टी नेकपा एमालेले अजयकुमार गुप्तालाई उम्मेदवार बनाएको छ । यसअघि गौर नगरपालिकाका मेयर गुप्ता माधवकै पुराना कार्यकर्ता हुन् ।

प्रभु शाहका कारण रौतहटमा एमालेको अवस्था राम्रो छैन । प्रभुले जतातै बागी उम्मेदवार उभ्याएका छन् । त्यसकारण एमालेलेका उम्मेदवारलाई सहज छैन । प्रभुकै कदमले पनि माधवकलाई जितका लागि सहजता थपेको छ ।

स्थानीय स्तरमा पार्टीका पक्षमा राम्रो मत हुनु माधव जितको पहिलो कारण हो भने प्रमुख प्रतिस्पर्धीको पार्टीमा किचलो हुनु जितको दोस्रो कारण हो ।

उपेन्द्र यादव- सीकेले रोक्ने सम्भावना
जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्याका लागि प्रतिस्पर्धामा छन् । एमालेको साथ पाए पनि जितका लागि उपेन्द्रलाई संकट हुनसक्छ ।

उपेन्द्रका मुख्य प्रतिस्पर्धीका रुपमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत उभिएका छन् । मुख्य प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनले भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरलाई उम्मेदवार बनाएको छ ।

गठबन्धनका उम्मेदवार उपेन्द्रका लागि कमजोर प्रतिस्पर्धी रहेता पनि सीके चुनौती हुन् । यसका अनेक कारण छन् ।

पछिल्लो सयम मधेसका सबै हस्तीहरुलाई ओझेलमा पार्दै उदाएका नेता हुन्, सीके । जनतामाझ सीकेको क्रेज अनपेक्षित छ । त्यसैले उपेन्द्रका लागि सीकै नै मुख्य चुनौती हुन् । अहिलेसम्मको प्रक्षेपणहरु हेर्दा उपेन्द्र ‘रेड जोन’मा देखिन्छन् ।

महन्थ ठाकुर- अप्ठ्यो छैन, सुनिश्चित होइन
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

यस क्षेत्रमा जनता समाजवादी पार्टीका हरिनारायण यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लाल पनि मैदानमा छन् । हरिनारायणले एमालेको साथ पाएका छन् भने वृषेशचन्द्र एक्लै मैदानमा छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार महन्थलाई वृषेशचन्द्र मुख्य चुनौती रहेको विश्लेषण हुने गरको छ । किनकी, महन्थमहरुसँगै मधेस राजनीतिमा उदाएका नेता हुन, वृषेशचन्द्र । तर, पनि महन्थलाई जितका लागि समस्या नहुने विश्लेषण हुने गरेको छ ।

तराईमा स्थापित र पुराना नेता महन्थले अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट झण्डै तेब्बर मतले निर्वाचन जितेका थिए । त्यो समय वाम गठबन्धनको साथ थियो । यसपटक वाम–लोकतान्त्रिक गठबन्धनको साथ ।

चित्रबहादुर केसी- गठबन्धनको भोटमा निर्भर
रााष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ–१ बाट प्रतिनिधिसभा सदस्याका लागि चुनावी संग्राममा छन् । कम्युनिष्ट आन्दोलन र उमेर दुवैले पाका चित्रबहादुरलाई वाम–लोकतान्त्रिक गठबन्धनको साथ छ ।

आधार क्षेत्र प्यूठान नपाएर माओवादीको आधार क्षेत्र बाग्लुङ पुगेका चित्रबहादुरले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद पाठक प्रतिस्पर्धी पाएका छन् ।

राष्ट्रिय राजनीतिमा कमाएको प्रख्यातीका आधारमा चित्रबहादुरको तुलनामा सूर्यप्रसाद गुमनाम पात्र हुन् । त्यसमा पनि एमालेको कमजोर क्षेत्र भएकाले माओवादी र कांग्रेसको मतले चित्रबहादुर विजयी हुने विश्लेषण हुने गरेको छ ।

राजमोका लागि बाग्लुङ अनुकूल क्षेत्र भने होइन । तर, माओवादी र कांग्रेसले इमानदारपूर्वक मतदान गर्ने हो भने पाका राजनीतिज्ञ चित्रबहादुरको संसद यात्रा रोकिने छैन ।

राजेद्र लिङ्देन- जित यात्रा रोकिने सम्भावना
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट प्रतिनिधिसभा सदस्याका लागि चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचन जितेका राजेन्द्रलाई यसपटक सहज छैन ।

झापा–३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला मुख्य प्रतिस्पर्धीको रुपमा मैदानमा छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सिटौला निक्कै बलियो उम्मेदवार हुन ।

एमाले अध्यक्ष ओलीले एक्लौटी निर्णयमा झापा–३ राप्रपालाई सुम्पिएपछि एमालेका नेता कार्यकर्ता रुष्ट छन् । यस्तो अवस्थामा एमालेको साथ पाए पनि राजेन्द्रले एमालेको अपेक्षित पाउने सम्भावना कम छ ।

यसरी हेर्दा राजेन्द्रको जित यात्रामा धक्का लाग्नसक्ने देखिन्छ । सिटौला भने अघिल्लो निर्वाचनमा पराजित गर्ने राजेन्द्रलाई पराजित गर्दै राष्ट्रिय राजनीतिमा पुनरागमन गर्ने तयारीमा छन् ।

कमल थापा– उत्कट चाहनामा अनेक तगारो
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)का अध्यक्ष कमल थापा मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्याका लागि कठिन संघर्षमा जुटेका छन् ।

राप्रपा नेपालको अध्यक्ष भए पनि कमल नेकपा एमालेको चुनाव चिन्ह सूर्य लिएर मैदान उत्रेका छन् । कमलका लागि सूर्च चिन्ह सहज नभएर अप्ठ्यारो बनेको छ ।

अध्यक्ष ओलीले अनाहकमै कमललाई ठाउँ छोडेपछि एमालेका कार्यकर्ता रुष्ट छन् । उनीहरु कमललाई भोट हाल्ने पक्षमा देखिन्न । त्यसैले एमालेको साथ पाए पनि कमलले एमालेको भोट पाउने सम्भावना न्यून छ ।

अध्यक्षमा पराजित भएर पार्टी छोडेका कमलसँग कार्यकर्ता पनि खासै छैनन् । पूर्व पार्टी राप्रपाका दीपकबहादुर सिंह पनि मैदानमा छन् । त्यसमाथि मुख्य प्रतिस्पर्धी सामान्य छैनन् ।

यस निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनले नेपाली कांग्रेसका महालक्ष्मी उपाध्यय ‘डिना उपाध्यय’लाई उम्मेदवार बनाएको छ । नेपाली राजनीतिमा राम्रो छवि बनाएका डिनासँगको प्रतिस्पर्धा कमललाई सहज देखिन्न ।

यसरी हेर्दा अनेक गरेर एमालेको चिन्ह पाएका कमललाई चुनाव जित्न भने त्यति सहज देखिन्न । एमालेलेहरुने आँखा चिम्लेर मतदान गरे मात्र कमलले जित्न सक्छन् ।

रवि लामिछाने- पत्रकारिता जस्तो सहज नहुन सक्छ
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् । पत्रकारिताबाट कमाएको ख्याती भोटमा रुपान्तरण गर्ने रविको चाहना पूरा हुन पनि सक्छ नहुन पनि सक्छ ।

भर्खरै गठन भएको पार्टीका अध्यक्ष रविका मुख्य प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ हुन् । स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका श्रेष्ठसँगको प्रतिस्पर्धा रविलाई सहज नहुनसक्छ । किनकी, उमेश पनि सबै दृष्टिकोणमा शक्तिशाली उम्मेदवार हुन् ।

त्यसैगरी, यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल पनि चुनावी मैदानमा छन् । पोखरेल पनि राम्रै जनमत बनाएका उम्मेदवार मानिन्छ ।

उमेश र कृष्णभक्त मजबुत संगठनको बलमा चुनावी मैदानमा छन् । उमेशलाई गठबन्धनको साथ छ । कृष्णभक्तलाई संगठनको आड छ । तर, रविसँग भने पत्रकारित गर्दा कमाएको ख्याती बाहेक अरु छैन । त्यसैले राविको जित अनिश्चित देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्